विराटनगर । लक्षणसहितका कोरोना संक्रमितको उपचारका लागी प्रदेश सरकारले विस्तार गरेको थप १ सय शैयाको बिशिष्टीकृत कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
विराटनगर–१० स्थित कोभिड–१९ उपचार केन्द्रको पछाडि उत्तरपट्टीको खाली संरचनामा विस्तारित कोभिड अस्पताल आईतबारदेखि सञ्चालनमा आएको हो । आईतबार प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अस्पतालको उद्घाटन गर्नुभएको हो । प्रदेश सरकार र नागरिक केयर सेन्टरको कुल ९ करोड बराबरको संयुक्त लगानी रहेको अस्पताल बहु–बिशिष्टीकृत किसिमको रहेको छ । पछिल्लो समय लक्षणसहितका संक्रमितहरु बढ्दै गईरहेकाले एकीकृत उपचारको आवश्यकतालाई महशुस गर्दै आईसियु, भेन्टिलेटर र अक्सिजन लगायतका आवश्यक स्वास्थ्य पूर्वाधारसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याईएको नागरिक केयर सेन्टर कार्यकारिणी समितिका अध्यक्ष पवन सारडाले बताउनुभयो ।
अस्पतालमा लक्षणसहितका संक्रमितहरुको उपचारका लागी ३५ वटा एच.डी.यु बेड, ६५ वटा जनरल आईसियु बेड, ४ वटा क्यानुला सिस्टम, ८० वटा पेसन्ट मोनिटर, ७५ वटा फाईभ फङसन ईलेक्ट्रीक बेड, ४ वटा ईसीजी, ६ वटा पोर्टेबल भेन्टिलेटर र ३ वटा सक्सन मेसिन लगायतका आवश्यक स्वास्थ्य पुर्वाधारहरु जडान गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का सचिव गोविन्द बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रदेश सरकारले तिहारसम्म अस्पताल सञ्चालनमा ल्याउने योजनाका साथ दशै अगावै कोभिड अस्पताल विस्तारको कार्य थालेको थियो । तर केही प्राविधिक समस्या र बिचमा आईपरेका चाडपर्वका कारण अस्पताल ढिलो सञ्चालनमा आएको हो । निमार्ण थालेको ४० दिनपछि अस्पताल सञ्चालनमा आएको भएपनि यहाँबाट दुरुस्त सेवा प्रवाह हुने बिषयमा दुईमत नरहेको प्रदेश सरकारको दाबी छ । यसबाहेक हालको कोभिड अस्पताल पछाडि दक्षिणपट्टीको खाली संरचनामा पनि थप १ सय शैयाको कोभिड अस्पताल विस्तार गरिने योजना रहेको प्रदेश सरकारले जनाएको छ ।
स्वीस सरकारबाट ४ करोडको सहयोगमा दक्षिणतर्फको संरचनामा पनि थप १ सय शैयाको कोभिड अस्पताल विस्तार गरिने प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । हामी सिभिल वर्कको कार्य अघि बढाउने अवस्थामा पुगेका छौं, उहाँले भन्नुभयो, ‘यसमा चाहिने सम्पुर्ण स्वास्थ्य पुर्वाधारहरुको व्यवस्था संघीय सरकारले गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।’
हाल प्रदेश नं. १ मा २९ हजार बढी सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरुको सफल उपचार प्रदेश सरकारका लागी चुनौतीको बिषय बन्दै गईरहेकाले निजी क्षेत्रसँगको सहकार्यमा अस्पताल विस्तार गरिएको जनाईएको छ । हाल प्रदेश सरकारले सञ्चालन गरिरहको कोभिड अस्पतालमा २४ जना मेडिकल अफिसर र ८ जना पारामेडिक्स सहित ७४ जना स्वास्थ्यकर्मीहरु संक्रमितको उपचारमा सक्रिय छन् । कोरोना महामारी विरुद्धको लडाईमा प्रदेश सरकारले आफ्ना दायित्वहरु जिम्मेवारीपुर्वक निर्वाह गर्दै आएको प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । उहाँले कोरोना महामारी विरुद्धको खोप तयार भईसकेको हुनाले नेपालमा पनि सो खोप प्रयोगमा ल्याउन प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।
हाल प्रदेश सरकारद्धारा सञ्चालित कोभिड अस्पताल २ सय बेड क्षमताको भएको छ । आगामी २ महिनाभित्र थप १ सय शैया विस्तार गरेर कुल ३ सय शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याउने प्रदेश सरकारको योजना छ ।