प्रदेश १ मा नेकपाको आन्तरिक समिकरण

प्रधानमन्त्री ओलीको समूह अत्यन्तै कमजोर

विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा समूहगत भेलाहरुले तीब्रता पाएको छ । देशभर समूहगत भेला र बैठक चल्ने क्रमसँगै प्रदेश र जिल्लामा आ–आफ्ना समूहलाई बलियो बनाउने कसरत पनि सुरु भएको छ ।

पछिल्लो पटक नेकपा संस्थापन पक्षले शुक्रबार काठमाडौं स्थित नेकपाको केन्द्रीयय कार्यालय पेरिसडाँडामा प्रदेश १ स्तरीय भेलाको आयोजना ग¥यो । पार्टीका केन्द्रीय सदस्य, जिल्लाका अध्यक्ष र सचिबको उपस्थितिमा भएको भेलालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको मनोमानीले सिमा नाघेको भन्दै कठोर बन्ने संकेत गरेका थिए ।

प्रधानमन्त्री ओली समूहले भने यसअघि नै जुममार्फत प्रदेश १ को भेला गरेको थियो । ओली पक्षले मदन भण्डारी फाण्डेसनको ब्यानरमा गुटभेला गर्दै आएको छ । पार्टीका सबै कमिटिमा भारी बहुमतमा हरेको प्रचण्ड–नेपाल समूहले भने भौतिक उपस्थितिमै पार्टीको केन्द्रीय कार्यालयमै भेला आयोजना ग¥यो । यसले नेकपाको अन्तरसंघर्ष उत्कर्षमा पुगेको आंकलन गर्न सकिन्छ ।

शुक्रबारको भेलापछि प्रदेश १ मा नेकपाको शक्ति सन्तुलनको अवस्था के छ भन्ने बारेमा चासो समेत बढेको छ । दुई पार्टी एकता भएर नेकपा बनेपछि तत्कालिन माओवादी केन्द्रमा आबद्ध रहेका अधिकांश प्रचण्ड–नेपाल समूहमै छन् । तत्कालिन एमालेको माधब नेपाल समूह प्रचण्ड समूहसँग मिलेकोले सो समूहको सबैतिर स्पष्ट बहुमत छ ।

प्रदेश १ का पदाधिकारीमध्ये प्रधानमन्त्री ओलीको समूहको प्रतिनिधित्व अध्यक्ष देवराज घिमिरेले गर्छन् भने सचिव सुरेश किराँती प्रचण्ड निकट हुन् । प्रदेश १ का इन्चार्ज भीम आचार्य नेपाल निकट, सहइन्चार्जहरु सावित्रिकुमार काफ्ले प्रचण्ड निकट र नरेश खरेल नेपाल निकट रहेकोमा अर्का सहइन्चार्ज तथा प्रदेशका मुख्यमन्त्री शेरधन राई ओली निकट हुन् ।

नेकपाले पार्टीका केन्द्रीय सदस्यहरुलाई जिल्लाको इञ्चार्ज र सहईञ्चार्ज बनाएको छ । प्रदेश १ का १४ जिल्लामा इञ्चार्ज रहेका १४ जना केन्द्रीय सदस्यमध्ये १३ जना प्रचण्ड–नेपाल समूहमा छन् भने खोटाङका इञ्चार्ज विशाल भट्टराई मात्र ओली समूहमा छन् । इन्चार्जहरुमा ताप्लेजुङका भाष्कर काफ्ले, झापाका रविन कोइराला, मोरङका घनेन्द्र बस्नेत, सुनसरीका धर्म निरौला,  संखुवासभाका राजेन्द्रकुमार राई, ओखलढुंगाका यज्ञराज सुनुवार र उदयपुरका बलदेव चौधरी नेपाल निकट हुन् । पाँचथरका इन्द्रबहादुर आङ्बो, इलामका धिरेन शर्मा, धनकुटाका हेमराज भण्डारी, तेह्रथुमका जयन्ती राई, भोजपुरका सुदन किराँती र सोलुखुम्बुका हेमकुमार राई प्रचण्ड निकट हुन् ।

यसैगरी १४ जिल्लाका २५ जना सहइञ्चार्जहरुमध्ये १६ जना प्रचण्ड–नेपाल समूहमा खुलेको छन् । अध्यक्ष ओली समूहमा ७ जना छन् भने दुई जना जिल्ला सहइन्चार्जहरु कुनै समूहमा खुलेका छैनन् ।

जिल्ला सहइन्चार्जहरुमा झापाका धर्मशिला चापागाई, ताप्लेजुङका पासाङ शेर्पा, मोरङका गोपी अछामी, सुनसरीका एकचन्द्र बराल, रामकुमारी चौधरी, तेह्रथुमका दुर्गा चापागाई, संखुवासभाका राजेन्द्र कार्की, खोटाङका रामकुमार राई र समिता कार्की प्रचण्ड निकट हुन् । यस्तै मोरङका महेश रेग्मी र देउमान सम्बाहाम्फे, सुनसरीका मोहमद महुज अन्सारी, भोजपुरका हरिबहादुर राई, खोटाङका दुर्गाजयन्ती राई र राजन राई आफ्नो पक्षमा रहेको नेपाल समूहको दावी छ ।

ओली समूहमा खुलेका जिल्ला सहइन्चार्जहरुमा पाँचथरका अइन्द्रसुन्दर नेम्वाङ्ग, झापाका देवेन्द्र दाहाल, सुनसरीका जगदिश कुशियैत, तैयव हुसेन र भगवती चौधरी, तेह्रथुमका बिजय सुब्बा र उदयपुरका मञ्जु चौधरी हुनुहुन्छ । सहइन्चार्ज रहेका झापाका हरिबहादुर राजवंशी र ताप्लेजुङका तिलकुमार मेयाङ्बो कतै नखुलेको बताइन्छ । नेपाल निकट मानिने मेयाङ्बो प्रतिनिधिसभाको सदस्य दाबेदार भएपनि योगेश भट्टराईले टिकट पाएपछि असन्तुष्ट रहेको बताइन्छ ।

प्रदेश १ का १४ जिल्लामध्ये ७ जिल्लाका अध्यक्षहरु प्रचण्ड–नेपाल समूहमा खुलेका छन् भने ५ जिल्लाका अध्यक्ष ओली समूहमा छन् । दुई जिल्लाका अध्यक्षहरु तथस्त रहेको मानिएको छ ।

इलामका अध्यक्ष राम राना र धनकुटाका अध्यक्ष राजेन्द्र राई आफ्नो समूहमा रहने दुबै पक्षको दावी छ । राना नेता झलनाथ खनाल निकट भएपनि प्रदेश सरकारमा मन्त्री रहेकोले नखुलेको प्रचण्ड–नेपाल समूहको दावी छ । राई पनि आपूmहरुसँगै रहेको सो समूहको भनाइ छ ।

जिल्ला अध्यक्षहरुमा ताप्लेजुङका बिजय बनेम, सुनसरीका योगेन्द्र मण्डल, खोटाङका देवान चाम्लिङ, ओखलढुंगाका मोहनकुमार खड्का र उदयपुरका विनोद कटवाल प्रचण्ड निकट हुन् । यस्तै तेह्रथुमका लक्ष्मण तिवारी र संखुवासभाका हेमराज घिमिरे नेता नेपाल निकट मानिन्छन् । पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, झापाका चिन्तन पाठक, मोरङका ऋषिकेश पोखरेल, भोजपुरका प्रेमकुमार राई र सोलुखुम्बुका मानबीर राई ओली समूहमा खुलेका जिल्ला अध्यक्षहरु हुन् ।

जिल्लाका सचिबहरुमा धने प्रदेश १ का १४ जिल्लाकै सचिवहरु प्रचण्ड–नेपाल समूहमा देखिएका छन् । ताप्लेजुङका बलबहादुर साम्सोहाङ, सुनसरीका रमेश वस्नेत, खोटाङका राम दंगाल, ओखलढुंगाका मोहन श्रेष्ठ र उदयपुरका इश्वरमणि राउत नेपाल निकट मानिन्छन् । यस्तै पाँचथरका होम जबेगु, इलामका सोममाया राई, झापाका मणिकुमार साम्पाङ, धनकुटाका ऋषिराम ढुंगाना, तेह्रथुमका इन्द्रबहादुर इम्सुङ, संखुवासभाका कृष्ण याख्या, भोजपुरका बिमल खड्का र सोलुखुम्बुका गोम्बु शेर्पा प्रचण्ड निकट हुन् ।

प्रदेश १ मा जिल्ला सरहको हैसियत राख्ने विराटनगर महानगर कमिटीको इञ्चार्ज शिवकुमार मण्डल र सचिव हेम कार्की प्रचण्ड–नेपाल समूहका हुन् । महानगरका अध्यक्ष अध्यक्ष सागर थापा भने ओली समूहमा छन् ।

प्रदेश १ बाट नेकपाको सचिवालयमा प्रतिनिधित्व गर्ने दुई जनामध्ये अध्यक्ष केपी ओली र पूर्व अध्यक्ष झलनाथ खनाल फरक समूहमा रहँदा स्थायी समिति सदस्यहरु योगेश भट्टराई, भीम आचार्य र आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडा प्रचण्ड नेपाल समूहमा छन् । स्थायी समिति सदस्य सुवास नेम्वाङ भने ओली समूहमा छन् ।

पार्टीको केन्द्रीय सदस्य रहेका प्रदेश सरकारका ५ जना मन्त्रीमध्ये मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुशियैत ओली समूहका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रचण्ड–नेपाल समूहका हुन् । मुख्यमन्त्रीको निर्वाचनमा शेरधन राईलाई सहयोग गरेर मन्त्री भएको कारण घिमिरेप्रति भने उहाँकै समूह विश्वस्त छैन भने उनी ओली निकट पनि हुन सकेका छैनन् ।

जिल्लाका इञ्चार्ज तथा सहइञ्चार्ज रहेका बाहेक संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोरङका भानुभक्त ढकाल, कानूनमन्त्री मोरङकै शिवमाया तुम्बाहाम्फेसहित केन्द्रीय सदस्यहरु मोरङका विनोद ढकाल र गुरु बराल तथा संखुवासभाका राजेन्द्र गौतम ओली समूहमा छन् । केन्द्रीय सदस्यहरु झापाका राम कार्की, ताप्लेजुङका टंक आङ्बुहाङ, भोजपुरका अजम्बर काङवाङ र पदम राई, सुनसरीका किरण राई, सोलुखुम्बुका शिवबहादुर वस्नेत,  उदयपुरका जगन्नाथ खतिवडा प्रचण्ड–नेपाल समूहमा खुलेका छन् ।

नेकपाको १ नं. प्रदेश कमिटि २०७ जनाको गठन भएको थियो । त्यसमा पछिल्लो पटक बिधान अनुसार १० प्रतिशत सदस्य मनोनित गरि थप गरिएको छ । प्रदेश कमिटिमा साविक माओवादीको ४० प्रतिशत रहेकोले त्यसमा नेपाल निकट सदस्यहरु थप गर्दा ७० प्रतिशत भन्दा माथि आफ्नो पक्षमा हरेको प्रचण्ड–नेपाल समूहको दावी छ ।

प्रदेशको पार्टी कमिटि मात्र नभएर प्रदेश १ को संसदीय दलमा पनि ओली पक्ष कमजोर हरेको छ । यसअघि साविक एमालेमा २ मतले शेरधन राईले भीम आचार्यलाई हराएर दलको नेता बन्दै मुख्यमन्त्री भएपनि अहिले पूर्वएमालेका ५१ सांसदमध्ये ओली पक्षमा २० जना मात्र रहेको दावी गरिएको छ । पूर्वमाओवादीका १६ जना प्रचण्डकै पक्षमा एकताबद्ध रहेकोले ६७ सदस्यीय नेकपा संसदीय दलमा ४७–२० को समिकरण रहेको दावी छ ।

यद्यपी ओली समूहबाटै प्रदेश सरसकारको मुख्मन्त्री र बहुमत मन्त्री कायम रहेकोले आफ्नो बहुमत संसदीय दलमा कायमै रहेको सो समूहको दावी छ ।

आइतबार, ०५ पुष, २०७७, बिहानको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर