विराटनगर । पैसा ब्याजमा लगाई ठगी गर्ने मिटरब्याजी विराटनगर–९ घोघापुल चौकका ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार अहिले प्रहरीको नियन्त्रणमा छन् । गैरकानूनी मानिएको मिटरब्याजमा लगानी गरि मन्टुले आर्थिक अवस्था नाजुक भएका घरपरिवारलाई टाट पल्टाएका छन् ।
मन्टुसँग ऋण लिएर सावाभन्दा धेरै बढी तिर्दा पनि धितो फिर्ता नगरेको भन्दै उजुरी आएपछि मोरङ प्रहरीले मंसिर २९ गते उनलाई पक्राउ गरेको थियो । समाजमा परम्परागत रुपमा चल्दै आएको सामन्ती प्रथा अनुसार साहु महाजन बनेर उनले एक ऋणीसँग पटक–पटक ल्याप्चे लगाएर ब्याजदेखि स्याजसम्म एकै पटक असुल्ने गरेका थिए ।
मन्टुसँग ऋण लिन आउने अधिकांश अतिविपन्न परिवारका छन् । मन्टुले उनीहरुलाई गलत नियतले ऋण दिएर ऋणी बनाउने गर्थे भने सोही रकमको व्याजदेखि स्यासजसम्म असुली गर्ने गरेको ऋण लिनेहरूले बताएका छन् । पीडित ऋणीहरुले उनको ऋण तिर्न नसकेर कतिपयले आत्महत्या नै गरेको स्थानीयले बताएका छन् ।
मोरङ धनपालथान गाउँपालिका–७ का ३६ वर्षीय बिनोदकुमार सिंहले २०६९ चैत १ गते मन्टुसँग ३ लाख रूपैयाँ ऋण लिएका थिए । आमा ५६ वर्षीय फगनीदेवी सिंहको नाममा कदमाहा ७ मा रहेको किता नम्बर ८५ को ९ कठ्ठा ७ धर जमिन मन्टुको नाममा पास गराएर ऋण लिएका उनले कागज भने १२ लाखको गरेका पाइएको छ ।
‘विभिन्न मितिमा १२ लाख रूपैयाँ मन्टुलाई बुझाईसकेको छु,’ विनोदले भने, ‘अझै ३५ लाख रूपैयाँ बुझाएपछि मात्र जग्गा फिर्ता गर्ने उसको भनाइ छ ।’ मिटरब्याजको हिसावले जोडेको रकम माग्दै मन्टुको मान्छे घरमा आएपछि आमा फगनीदेविको गत वर्याको पुसमा मृत्यु भयो । ऋणको दबाबले आमाको मृत्यु भएपछि पनि मन्टुको दबाब कम भएन ।
विनोदका बावु भूपेन्द्रको आमाभन्दा पहिला २०७३ मा मृत्यु भएको थियो । आमा र बावुको मृत्युपछि मन्टुले ऋणको १० गुणभन्दा बढी रकम चुक्ता गर्न दबाव दिन थालेको बिनोदको भनाइ छ । मन्टुबाट ऋण लिएकाहरूका अनुसार ऋण दिने बेलामा मिठो कुरा गर्ने र कागजमा सहिछाप गराएको केहि वर्षमा चर्को असुली गर्ने गरेका छन् ।
मन्टुबाट ऋण लिएर पीडा झेल्दै आएका मोरङ धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय मञ्जर हुसेनले ४ लाख रुपैयाँ ऋण लिएकोमा ७ वर्षमा ३६ लाख रुपैयाँ बुझाइसकेका छन् । तर, उनको धितो राखेको ११ कठ्ठा जग्गा फिर्ता भएको छैन । मन्टुले थप ६८ लाख मागेको पीडितको भनाइ छ ।
मन्टुसँग मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका वासिन्दाले वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे । तर मन्टुले गलत तरिकाले ती स्थानीवासीलाई ठगी गर्न थालेको उनीहरू बताउँछन् ।
पैसा उठाउने एजेन्ट गाउँमा
मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसा उठान एजेन्ट गाउँमा खटाउने गरेको मन्टुबाट ऋण लिएर पीडा झेल्दै आएका मोरङ धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय मञ्जर हुसेनले बताए । पीडितका अनुसार मन्टुको तीन दर्जन बढी गाउँमा एजेन्ट परिचालित छन् ।
आरोप पुष्टि हुने दशी खोज्दै प्रहरी
मन्टु पक्राउ परेपछि उनीबाट ठगिएका पीडितहरु उजुरी लिएर प्रहरीमा आउने क्रम बढेको छ । उनीसँग ऋण लिएकाले उजुरी दिएपछि मोरङ प्रहरीले मन्टुलाई २९ मंसिरमा घरदेखि पक्राउ गरेको थियो । मन्टु पक्राउ परेपछि मोरङ प्रहरीमा लिखित जाहेरी दिने एक दर्जन बढी भइसकेका छन् ।
पीडितको उजुरीपछि रौनियारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले म्याद थप गरि अनुसन्धान सुरू गरेका छौं । आरोपलाई पुष्टि हुने दशी संकलनमा हामी लागिपरेका छौं ।’