विराटनगर । विराटनगरका मुख्य तीन चोकमा आकाशे पुल बनाउने विराटनगर महानगरपालिकाको योजनामा ढिलाई भएको छ ।
आकाशे पुल निर्माणका लागि महानगरपालिकाले बोलपत्र आव्हान गरी प्राविधिक प्रस्ताव माग गरेको एक वर्ष बित्न लागेको छ । प्राविधिक प्रस्ताव पेश गरेका कम्पनीहरुसँग महानगरपालिकाले अहिलेसम्म आर्थिक प्रस्ताव आव्हान गरेको छैन ।
एक वर्ष अघि आर्थिक वर्ष २०७६÷७७ को मंसिर महिनामा महानगरपालिकाले आकाशे पुलको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा ग्राफिक डिजाइन स्वीकृत गराई ठेक्का प्रक्रिया अघि बढाएको थियो । लामो समयसम्म पुल निर्माणको प्रक्रिया अघि बढ्न नसकेपछि सरोकारवालाहरुले ढिलासुस्तिप्रति चासो बढाएका छन् ।
विराटनगर–धरान सडक खण्ड अन्तरगत वडा नम्बर ३ र ४ लाई जोड्ने गरी कञ्चनबारी चोकमा, वडा नम्बर २ र ५ लाई जोड्नेगरी बरगाछी चोकमा तथा महाबीर चोक (घाँस चोक) र गुद्री बजारलाई जोड्ने गरी बजार क्षेत्रमा आकाशे पुल निर्माण गर्ने प्रक्रिया महानगरपालिकाले बढाएको थियो । रानी –इटहरी– धरान ६ लेन सडक अन्तर्गत पर्ने चोकहरुमा अधिक भिडभाड हुने गरेकोले आकाशे पुल निर्माणको प्रक्रिया अगाडि बढेको थियो ।
सडक चौडा भएपछि सर्वसाधारणलाई बाटो काट्न सास्ती हुने गरेको र ट्राफिक व्यवस्थापन मिलाउन नसक्दा दुर्घटनाको जोखिम पनि उच्च भएकोले त्यो समस्याको समाधान आकाशे पुलबाट मात्र हुने निश्कर्ष महानगरको छ । तर, त्यसको काम अगाडि नबढ्नु र दिनहुँजसो साना ठूला दुर्घटना हुन थालेपछि आकाशे पुलको आवश्यकतासँगै दवाव पनि बढ्न थालेको छ ।
महानगरपालिकाले ठेक्का प्रत्रि,यामा बिलम्ब गर्दा निर्माण कम्पनीहरुले पेश गरेको बैंक ग्यारेन्टीको अवधिसमेत समाप्त भएको छ । बैंकहरुले एक वर्षको बैंक ग्यारेन्टी दिएकोमा उक्त अवधि सकिएपछि महानगरले प्राविधिक प्रस्ताव पेश गरेका कम्पनीहरुसँग पुनः बैंक ग्यारेन्टी माग गरेको छ ।
आर.आर. इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा.लि.का स्ट्रक्चर इन्जिनियर डा. राजन सुवालको डिजाइनमा महानगरले आकासे पुल निर्माण गर्ने गरी प्राविधिक प्रस्ताव माग गरेको थियो । चालु आर्थिक वर्ष २०७७÷७८ का लागि महानगरले विराटनगर गेट, सभागृह र आकाशे पुलका लागि एकमुष्ठ ९ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरिएको भएपनि निर्माण कार्य अघि नबढेका कारण उक्त रकम खर्च हुन सकेको थिएन ।
पूर्ण ‘स्टिल स्ट्रक्टर’मा आधारित आकाशे पुल निर्माण हुने र अन्यत्र सार्नुपर्दा वा हटाउनु पर्दा पनि पुनप्र्रयोगमा ल्याउने गरी पुलको डिजाइन भएको इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । इँटा र सिमेन्टको प्रयोग गर्दा खर्च बढी हुने र पुनःप्रयोग गर्न नसकिने भएकोले स्टिल स्ट्रक्चरमा निर्माण गर्ने महानगरको योजना छ ।
महागनरले आकाशे पुल निर्माणमा अन्य कारणले नभई कोरोना महामारी र त्यसबाट राजश्व आयमा परेको असरले गर्दा केही विलम्ब भएको जनाएको छ । निर्माण हुने पुलको प्राविधिक मूल्यांकनको काम सम्पन्न गरिसकेको प्राविधिक प्रस्ताव पेश गरेका कम्पनीहरुसँग आर्थिक प्रस्ताव माग्ने तयारी भइरहेको योजना शाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेलले जानकारी दिनुभयो ।
आर्थिक प्रस्तावका लागि एक हप्ते सूचना प्रकाशन गरेपछि आशयको सूचना प्रकाशित हुने र छिट्टै आकासे पुल निर्माण प्रकृया अघि बढ्ने महानगरले जनाएको छ । नगरका तीनवटै चोकमा २५ मिटर लम्बाईका आकाशे पुल बन्नेछन् । ३० मिटर चौडा सडकमा दुवै तर्फ ५÷५ मिटर फुटपाथ छोडेर पुल बन्ने बताइएको छ ।
ठेक्का सम्झौता भएको एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गर्ने महानगरको योजना रहेपनि प्रक्रिया अघि नबढ्दा निर्माणमा ढिलाई भएको छ ।