काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट पुनः संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
अध्यादेश जारी गरेपछि नेकपाकै ८३ जना सांसदहरुले विषेश अधिवेशन माग गर्दै समावेदन दिन राष्ट्रपति कार्यालय पुगेपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए । नेकपा बैठकले संसद बैठक बोलाउने समावेदन र अध्यादेश दुबै फिर्ता लिने निर्णय गरेको थियो ।
अध्यादेश फिर्ता लिनको लागि मन्त्रिपरिषदले निर्णय गरेर अर्को अध्यादेश जारी गर्नुपर्छ । बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट आएको छैन । तर, प्रधानमन्त्री ओलीले बिहीबार साँझको लागि संवैधानिक बैठक बोलाएका छन् ।
विपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकका लागि बोलाइएको स्रोतले जनाएको छ । अध्यादेश फिर्ता गरि सहमतिको आधारमा अगाडि बढ्ने प्रतिबद्धता जनाएकै भोलिपल्ट परिषदको बैठक किन बोलाइएको हो भन्ने खुलेको छैन ।
परिषद बैठकको लागि ५ः३० बजेको निम्तो आएपनि अध्यादेश फिर्ता नभएसम्म बैठकमा कांग्रेस सभापति देउवा नजाने भएका छन् । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । आजको बैठकको लागि सभामुखलाई भने निम्तो नै नगएको स्रोतले जनाएको छ ।