उर्लाबारी । मृगौला पीडित मोरङको उर्लाबारी वडा नं. ६ का अमित सन्तराजले सहयोगको याचना गरेका छन् ।
विगत केही बर्षदेखि मृगौला रोगबाट पीडित सन्तराजको खुट्टासमेत पाक्न थालेपछि थप उपचारका लागि सहयोगका लागि हारगुहार गरेका हुन् । जातो र सिलैटाको ब्यापार गरी परिवार पाल्दै आएका सन्तराजको आर्थिक अभावका कारण उपचारमा समस्या भएको स्थानीय चन्दन पण्डितले बताए ।
उर्लाबारी–६ मा डेरा गरी बस्दै आएका सन्तराजको समस्या जटिल बनेपछि आफन्त तथा स्थानीयको सहयोगमा बुधबार विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि लगिएको छ । सन्तराजका ७ बर्ष र ४ बर्षका दुई छोरा छन् । कसरी गाँस, बास र कपासको व्यवस्था गर्ने भन्ने वेला यस्तो बिपद् सिर्जना भयो, ऋण खोज्दा ऋण पनि कसैले दिँदैनन् उपचारको लागि धेरै ठाउँमा धाएता पनि ऋणसमेत नपाएको सन्तराजकी श्रीमति सुमन सन्तराजले दुखेसो पोखिन् । परिवारमा निराशा छाएता पनि ३१ वर्षीय पीडित सन्तराजले आफ्नो उपचार भएमा बाँचेर केही गर्ने इच्छा रहेको बताएका छन् ।
उनले भने, ‘उपचार गर्न पैसा छैन सहयोगको लागि आग्रह गर्दछु । उपचार खर्च सहयोग गर्नुस् म बाँचेर तिर्नेछु ।’ सहयोगका लागि उनले आफ्नो मोबाइल नम्बर ९८१५०६९३५३ मा सम्पर्क गर्न सकिने जनाएका छन् ।