नेकपा स्थायी समिति बैठक, ओली अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको तेस्रो दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटामा शुरू गर्ने तयारी भएपनि अझै सुरु भएको छैन ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बैठकमा प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली सहभागी नरहेको तथा नेताहरु परामर्शमा रहेकोले बैठक सुरु नभएको हो ।

गत मंसिर २१ गते शुरू भएको स्थायी कमिटी बैठक २८ गते केन्द्रीय सदस्य कमानसिंह लामाप्रति शोक प्रस्ताव पारित गरेर सकिएको थियो ।
मंसिर २१ गतेको बैठकका अनुपस्थित नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २८ गतेको बैठकमा उपस्थित भएका थिए ।

बुधवारको बैठकअघि प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको बेला मंगलबार सरकारले जारी गरेको संवैधानिक परिषद सम्बन्धि अध्यादेशले आगोमा घिउ थपेको छ ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने तयारी गरेका छन् ।

बैठक अगाडि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वान टु वान वार्ता भएको थियो । दुई अध्यक्षबीच भएको कुराकानीबारे कुनै जानकारी बाहिर आएको छैन ।

बुधबार, ०१ पुष, २०७७, दिउँसोको ०१:४२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर