शीतलहर सुरु भएपछि जनजीवन कष्टकर

विराटनगर । यो साताको सुरुदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाको कारण विराटनगरलगायत पूर्वी तराईको जनजीवन प्रभावित भएको छ ।

मौसम चिसिएर शीतलहर सुरु भएपछि जनजीवन थप कष्टकर बन्दै गइरहेको छ । चिसो बढेपछि गरिब तथा सुकुम्बासीहरु समस्यामा परेका छन् ।

सामान्य बनिबुतो गरेर जीवनयापन गर्दै आएका, आर्थिक अवस्था कमजोर भएकाहरु, बस्ने घरको उचित व्यवस्थापन हुन नसकेका, सुकुम्बासी, गर्भवती महिला, वृद्धवृद्धा र बालबालिका बढी कष्ट झेल्न बाध्य भएका छन् । विराटनगरमा मंगलबार बिहान वर्षकै सबैभन्दा धेरै चिसो महसुस गरिएको छ। मंगलबार बिहान विराटनगरको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

सोमबार विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री र आइतबार १३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसममा आएको परिवर्तनसँगै केही दिनदेखि घाम नदेखिँदा चिसो बढेर तापक्रम ओरालो झर्ने क्रममा रहेको छ ।

चिसोका कारण बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम हुँदै गएको छ । सवारी साधनमा यात्रा गर्ने यात्रुको संख्यामा पनि कमी आएको छ । सर्वसाधारण आगो तापेर चिसो भगाउने प्रयास गरिरहेका छन् ।

चिसोसँगै केही दिनयता रुघाखोकी, निमोनिया, कोल्ड डायरिया तथा श्वासप्रश्वासका बिरामीको संख्या अस्पताल र स्वास्थ्य संस्थामा बढेको छ । विराटनगरको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालमा आकस्मिक कक्षमा शय्याको अभाव हुने अवस्थासमेत आएको बताउनुभयो ।

हुस्सुसँगै मौसममा आएको खरावीका कारण भिटिभिलिटी कम हुँदा विराटनगर विमानस्थलको उडानसमेत प्रभावित भएइको छ । विमानस्थल प्रमुख उत्सवराज खरेलका अनुसार उडान ढिलो हुने र रद्ध गर्नुपर्ने समस्या आएको छ ।

बुधबार, ०१ पुष, २०७७, बिहानको ११:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर