राष्ट्रिय युवा संघका संयोजक दिपशिखाले भनेः

अध्यादेशविरुद्ध सडक संघर्ष गर्छौं

विराटनगर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा)ले सरकारले ल्याएको अध्यादेश विरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता नभए आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभएको हो । ‘हामीलाई जनताले दिएको म्यान्डेड अनुसार संसदबाट कानुन बनाउने हो, अध्यादेशबाट देश चलाउने होइन,’ विराटनगरमा आज आयोजित नेकपा सम्बद्ध युवा विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अध्यादेश फिर्ता नभए सडकमा आगो बल्छ, दुईजना चरि ढुक्कुर मिलेर जे पनि गर्न मिल्छ ?’

सापकोटाले नेकपाको नेता कार्यकर्ताका लागि अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै रून पनि नपाइने अवस्था रहेको बताउनु भयो । ‘नखाऊ दिनभरिको सिकार, खाउँ कान्छा बाबुको अनुहार जस्तो भएको छ, यहाँ बोलौं भने मात्रै पनि कान्छाबाबुको अनुहार देखिन्छ,’ सापकोटाले भन्नुभयो, ‘७० करोड खान खोज्नेहरुले नैतिकताको पाठ सिकाउने कस्ता दिन ?’ सापकोटाले नेकपामा अहिले देखिएको तेस्रो धार मिलाएर खानेहरुको भएको भन्दै माक्सवादले कुनै पनि बीचको कुरा नगर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले अर्काको कुरा नसुन्ने, आलोचना नसहने, आफूलाई देउता ठान्ने प्रवृत्ती अन्त्य गर्नुपर्नेमा जोड दिँदै नेकपालाई सरकारमा नेतृत्व गर्नेहरुले मण्डलले जस्तो बनाएको बताउनु भयो ।

कुनै पनि हालतमा पार्टी नफुट्ने र फुट्न पनि नदिने उहाँको भनाइ थियो । ‘पार्टी फुट्न हामी दिदैनौं, ५ गतेको केन्द्रीय समितिको बैठकमा नेताहरूको कस्को के चाहना छ हामी बुझ्दैछौं, त्यही अनुसार निर्णय गर्छौं,’ रेग्मीले भन्नुभयो, ‘समुन्द्रबाट २÷४ ट्यांकर पानी कसैले लैजाँदैमा पानी सकिँदैन ।’

सोही कार्यक्रममा बोल्दै पूर्व आपूतिमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य शिव कुमार मण्डलले सरकार ठिक ढंगले हिंडाउने प्रयास स्वरुप अहिले अन्तरसंघर्ष चलिरहेको बताउनु भयो । ‘ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमितता छानविन हुनुपर्छ कि पर्दैन ?, पार्टी फोर्ने अध्यादेश किन आयो ?, सरकारले गरेको कामको जवाफदेहिता लाखौं कार्यकर्ताले दिनु पर्छ भने सरकार राम्रो चलाउनु पर्छ कि पर्दैन ?’, मण्डलले प्रश्न गर्नुभयो, ‘भारतीय एजेन्सी ‘रअ’सँग गोप्य भेट किन भयो ? ।’

कोही राजासँग मित लगाउन गए आफूहरु त्यसलाई अस्वीकार गर्ने बताउँदै मण्डलले विदेशी दलाललाई ल्याएर भ्रष्टाचारको सुरूआत गर्नेहरू राजा र कांग्रेस नै भएको दाबी गर्नुभयो । उहाँले अबको युग कांग्रेस र राजाहरुको नभई कम्युनिष्टको युग भएको पनि बताउनु भयो ।

यस्तै नेकपा नेता तथा १ नम्बर प्रदेशसभा सदस्य कूलप्रसाद साम्बा (कुशल)ले चिनमा माओले गरेजस्तै अब हेडक्वाटरमा बमबाड गर्नुपर्ने बताउनु भयो । ‘अस्पतालमा मानिसहरु लाखौं रुपैयाँ खर्च गरेर उपचार गर्दा पनि अन्तिममा लाश लैजान पैसा नहुने ? यो कम्युनिष्ट सरकार भन्दा लाज हुँदैन ?,’ आक्रोशित हुँदै लिम्बूले भन्नुभयो, ‘अब हेडक्वाटर विरुद्ध बमबाड गर्नुपर्छ ।’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हालसम्म प्रदेशको नाम पनि राख्न नसकेको तर, कार्यक्रमै पिच्छे टाइसुट फेरेर भाषण गर्न जाने गरेको भन्दै साम्बाले भन्नुभयो, ‘मुख्यमन्त्रीले सुट फेरेर प्रदेश बन्छ ?, खोइ समृद्धि ? जनतालाई के जवाफ दिनु ? काम गर्न नसकेको हो भने छोड्नुहोस् हामी चलाउँछौं ।’

कार्यक्रममा बोल्दै नेकपा मोरङका सचिव गणेश उप्रेती सुशीलले वैचारिक बहसलाई तोडमोड गरेर पार्टी फुटाउने अधिकार कसैलाई नभएको बताउनु भयो । कार्यक्रममा युवा संघका नेता नरेन्द्र शाही, युवा तथा विद्यार्थी नेता वसिम आलम, इश्वरी आचार्य, नरेन्द्र बस्नेत, ताजिम अन्सारी, अनिल कार्कीलगायतले बोल्नु भएको थियो ।

मङ्गलबार, ३० मंसिर, २०७७, साँझको ०५:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर