विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको विकल्प खोज्नु असान्दर्भिक हुने बताउनुभएको छ ।
विराटनगरमा मंगलबार एक कार्यक्रमका बीच मुख्यमन्त्री राईले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने र संघीयताको विरोध गर्दै प्रदेश सरकारलाई धारेहात लगाउनेकार्य स्वीकार्य नहुने बताउनुभएको हो ।
तीन तहका सरकारले जनतालाई सहज ढंगले सेवा प्रवाह गरिरहेको भन्दै सरकारको विकल्प खोज्नेहरुको माग तत्काल पुरा नहुने उहाँले बताउनुभयो ।
तीन तहको सरकार बनेपछि देशभर विकास निर्माणको कामले गति लिएको र अभूतपूर्व ढंगबाट पूर्वाधार निर्माण भइरहेको मुख्यमन्त्री राईले बताउनभयो ।
‘हामी संघीयतामा गएपछि जसरी विकासका काम अघि बढेको छ यस अघिका कुनैपनि सरकारले यसरी काम गर्न सकेको थिएन,’ मुख्यमन्त्री राईले भन्नुभयो ‘ तीन तहको सरकार बनेपछि विकासका काम समयमै सम्पन्न हुन थालेका छन् ।’
मुलुक समृद्धि तर्फ अघि बढेको बेला अपराधिक ढंगबाट नागरिकको हत्या गरेर कुनै क्रान्ति सफल नहुने उहाँले बताउनुभयो । उहाले सडकमा निस्किएर सरकारको विरोध गर्नेहरुले आफ्नो पालामा केहि नगरेको टिप्पणी समेत गर्नुभयो ।