अनन्तराज न्यौपाने
जब कुनै राजनीतिक दल वा नेतासित विकास–निर्माण र उन्नति र उत्थानका कुनै एजेन्डा हुँदैनन्, उनीहरू जात–जाति, धर्म–सम्प्रदाय र वेशभूषाका कुरा निकाल्न थाल्छन् । किनकि यस्ता कुराले जनताको सेन्टिमेन्ट सजिलै पक्रन सकिन्छ । सभ्यता, संस्कार र शिक्षाको विकास नभइसकेको मुलुकका जनता आफ्नै धर्म, भाषा, संस्कृति, वेशभूषा र चालचलनका आत्मरतिमा रमाइरहेका हुन्छन् । उनीहरूले अरूका परम्परा, आस्था र भाषालाई सम्मान गर्न जानेका हुँदैनन्, बरु घृणाका दृष्टिले हेर्छन् । यस्ता नागरिकलाई उचाल्न र भट्काउन सजिलो छ । अराजकतावादीले प्रायः यही गर्छन् र आफू क्रान्तिकारी भएको भ्रम पाल्छन् । अनि त्यही भ्रमको खेती गरेर सस्तो लोकप्रियता खोज्छन्, यसैबाट सत्तामा उक्लने प्रयास गर्छन् । गर्नुपर्ने के हो भने आफ्नो धर्म, संस्कृति, परम्परा र वेशभूषाको रक्षा गर्दै अरूका धर्म, संस्कृति, परम्परा र वेशभूषाको सम्मान गर्नसक्नु पर्ने हो । तर, त्यो भइरहेको छैन ।
खासमा राजनीतिक दलसित एउटा गुरुयोजना हुन्छ र अर्को लघु योजना । यो मुलुकलाई आगामी ५० वा ४० वा २० वर्षमा यहाँनिर पु¥याउँछु भन्ने दीर्घकालीन योजना बनाएर हिँड्छ, साँचो राजनीतिक दल । अनि त्यही दीर्घकालीन लक्ष्य भेट्टाउन अल्पकालीन कार्यक्रम र नीतिहरू बनाउनु पर्छ । बिपी कोइरालाले २०१५ सालमा प्रधानमन्त्री हुनेबित्तिकै आफूले आगामी १५ वर्षमा प्रत्येक नेपालीलाई आफूजस्तै बनाउने घोषणा गरेको स्मरणीय छ । यसपछि नेपालका कुनै राजनीतिक दलले यसो गरेका छैनन् । हिजोको घोषणापत्र आज बिर्सिएका छन् । भोलिको चुनावमा घोषणापत्र लेख्नुपर्दा अघिल्लो चुनावमा के लेखेका थियौँ भन्ने होस पनि गर्दैनन् । यसरी प्रत्येक दल अहिले एजेन्डाहीन, सिद्धान्तच्युत र विचारशून्य देखिएका छन् । त्यसमध्ये पनि सबैभन्दा नेतृत्वदायी भूमिकामा रहेको अनि हरेक क्रान्ति र आन्दोलनको अगुवाइ गरेको नेपाली काङ्ग्रेस एजेन्डाका मामलामा अझ पछि परेको छर्लङ्ग भएको छ ।
यसैबिच काङ्ग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाले सोमबार बिहान कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै हिन्दु राष्ट्रका पक्षमा आफ्नो अभिमत जाहेर गरेका छन् । कुनैबेला यहि नेपाली काङ्ग्रेस प्रचण्डपथमा हिँडेकोजस्तो देखिन्थ्यो । शशांकको अभिमतले के सिद्ध गर्छ भने आजको नेपाली काङ्ग्रेस कमल थापाको आठपहरिया हुन खोजिरहेछ ।
डाक्टर शशाङ्कले सोचेजस्तो धर्मनिरपेक्षबाट अब सोझै हिन्दुराष्ट्रमा मुलुकलाई लैजानु त्यति सजिलो अवश्य छैन । वास्तवमा देशको कुनै धर्म हुँदैन, त्यसैले देश धर्मनिरपेक्ष नै हुन्छ । धर्म त व्यक्तिको हुन्छ । तर, शशाङ्कले भनेझैँ हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउने हो भने यो मुलुक जता पनि जानसक्छ । धर्मका नामको चुनावले मुलुक फेरि हत्या, हिंसा र अराजकताको दलदलमा भासिन सक्छ । विदेशी शक्तिका लागि मुलुक फेरि एउटा राम्रो खेलमैदानमा परिणत हुन्छ ।
धर्मका नामको विभेद, विवाद र विमतिले समाज विखण्डनको दिशातिर उन्मुख हुनेछ । अनि यही भुङ्रामा राजावादीहरू तात्नेछन् र संवैधानिक राजतन्त्रका लागि पनि जनमत सङ्ग्रहको माग गर्नेछन् । यसरी हिन्दु राष्ट्रको माग र यसका लागि जनमत सङ्ग्रह भन्नुको अर्थ प्रकारान्तरले राजा फर्काउने दाउ हो । नेपालका जिम्मेवार राजनीतिक दल र नेताले यतातिर लाग्नु प्रतिगमन निम्त्याउनु मात्र हो ।
नेपाली काङ्ग्रेसले हिन्दु राष्ट्रका नाममा कहिल्यै वकालत गरेन । यसका संस्थापक नेता बिपी कोइरालाले पार्टी निर्माण गर्दा झन्डाका चार वटा तारामध्ये एक तारालाई धार्मिक स्वतन्त्रता भन्ने व्याख्या गरे । धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षको सार एउटै हो । यसपछिका हरेक प्रसङ्गमा बिपीले धर्मनिरपेक्ष नेपालका पक्षमा वकालत गरे । धर्मनिरपेक्षका पक्षमा बिपी आजीवन अडिग रहे ।
आज त्यही पार्टीका महामन्त्री मात्र होइन स्वयम् बिपीका पुत्र डाक्टर शशाङ्कले नेपाललाई हिन्दु राष्ट्रमा फर्काउन लागेको देख्ता नेतालाई आफ्नो सिद्धान्त, आस्था र विचारबाट च्युत हुन कत्ति पनि समय लाग्दैन रहेछ भन्ने सिद्ध भएको छ । शशाङ्क आगामी महाधिवेशनमा पार्टी सभापतिका दावेदार हुन् । उनले काङ्ग्रेसको महाधिवेशनमा चुनाव जित्नकै लागि हिन्दु राष्ट्रको कार्ड फालेका हुन् भने पनि त्यो अपशकुन नै हो । यो कार्डबाट उनलाई चुनाव जित्न त सजिलो पर्ला तर यसले उत्पन्न गर्ने द्वन्द्व र अराजकताको सामना गर्न शशाङ्क अवश्य पनि सक्तैनन् । शशाङ्कजस्तो परिपक्व र जिम्मेवार नेताले धर्मको एजेन्डा बोकेर हिँड्नुभन्दा राजनीति नगर्नु उचित छ । उनले आफ्ना पिता बिपीका सबै सिद्धान्त, विचार र अवधारणालाई पोलेर खाएझैँ देखिन्छ । अनि चुनाव चाहिँ बिपीका छोराका नाममा लड्न खोजिरहेका छन् ।