विराटनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको चौतर्फी निन्दा र भत्र्सना सुरु भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग, राजनीतिक दल, शिक्षकसँग सम्बन्धीत विभिन्न संघ संगठनहरुले विज्ञप्ति प्रकाशित गर्दै शिक्षक हत्याको निन्दा गर्दै दोषिलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
‘मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा मङ्सिर २३ गते भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आयोगको प्रदेश कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको छ । आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी, मेची–कोसी ब्यूरोको प्रेस वक्तव्य अनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिन्छ । व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति आयोग खेद प्रकट गर्दछ ।’
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको जनाउँदै आफ्ना राजनैतिक विचारहरु अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिहरुलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको स्मरण पनि गराएको छ ।
आफ्ना विचारहरुमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोग नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै आयोगले कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।
शिक्षक संगठनहरुको विरोध
यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङ र नेपाल शिक्षक महासंघ मोरङले पनि छुट्टा–छुट्टै विज्ञप्ति जारी गर्दै व्यक्ति हत्याजस्तो जघन्य अपराधमा संलग्नलाई कारबाहीको माग गरिएको छ ।
नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देल र सचिव अशोककुमार लुईंटेलले विज्ञप्ति जारी गर्दै प्रधानाध्यापक श्रेष्ठको निर्मम हत्याको घोर भत्र्सना गरेको छ । ‘विद्यालयमा निर्भिकता पूर्वक पठनपाठन गराउने वातावरण सिर्जना गर्न, शान्ति सुरक्षाको प्रत्याभूति अविलम्ब कायम गर्न र भयरहित वातावरणको सिर्जना गराउन २०७७÷०८÷२५ गते बिहीबार १ दिन जिल्ला भरीका सबै विद्यालयहरु (परीक्षामा बाधा नपुग्ने गरी) बन्दको कार्यक्रम गर्न गराउन आव्हान गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष प्रेमप्रसाद भट्टराई र सचिव महेशकुमार गौतमले विज्ञप्ति प्रकाशित गर्दै हत्याको विरोध गरिएको छ । ‘यस्ता आततायी क्रियाकलापले समग्र शैक्षिक क्षेत्रको उन्नयनमा इमान्दार भएर लागिपर्ने शिक्षकहरुको असुरक्षा तथा व्यक्तिको बाँच्न पाउने अधिकारको हनन् भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो जघन्य अपराधमा संलग्न हत्याराहरुलाई यथाशीघ्र कानूनको कठघरामा ल्याई कारबाही गरियोस् ।’
नेकपा मिक्लाजुङको विरोध
यता शिक्षक श्रेष्ठको हत्याको नेकपा मिक्लाजुङ गाउँ कमिटिले पनि भत्र्सना गरेको छ । नेकपा मिक्लाजुङका अध्यक्ष नरेन्द्रप्रसाद ढुंगेल र सचिव दिनेश पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमो हत्यामा संलग्नमाथि कडा कार्वाहीको माग गरिएको छ ।
मृतक श्रेष्ठ नेकपा मिक्लाजुङका पार्टी सदस्य थिए । ‘नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)द्वारा घरमा बसिरहेको अवस्थामा श्रेष्ठलाई घरबाट नजिकैको देउढुंगे जङ्गलमा लगि कुटपिट गरी, हात बाँधेर घाँटी रेटी विभत्सतापूर्वक हत्या गरिएको घटनाले सिंगो पार्टी स्तब्ध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘व्यक्ति हत्या गर्ने घटना दुःखद् आततायी र कायरतापूर्ण कार्यको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिक्लाजुङ घोर भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुको साथै घटनामा संलग्नलाई अनुसन्धान गरी कारबाहीको माग पनि गरिएको छ ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी कुनैपनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न विप्लव समूहलाई आग्रह गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो ।
आयोगले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको जनाएको छ ।
आफ्ना विचारहरुमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोगले विप्लव समूहलाई आग्रह गरेको छ । मंगलबार विहान मोरङ मिक्लाजुङ–१ को सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको थियो ।