ओली पक्षकै विद्यार्थीले भनेः सरकारको सफलता के हो ? के प्रचार गर्नु ?

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढिरहेको बेला प्रदेश १ मा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय विद्यार्थी भेला सोमबार विराटनगरमा सम्पन्न भयो ।

भेलामा प्रदेश १ का १४ जिल्लाका अनेरास्ववियुका आफू पक्षीय केन्द्रीय सदस्यहरु, केन्द्रीय निकायका अध्यक्ष तथा सदस्यहरु, पूर्व सचिव, जिल्लाका संयोजक तथा सहसंयोजक, ठूला क्याम्पसका संयोजक र सहसंयोजक गरी १ सय ३५ जना सहभागी थिए ।

विराटनगरस्थित निहारिका कलेजमा भएको भेलामा केन्द्रीय सदस्य तथा जिल्लाका संयोजक र सहसंयोजकहरुले रिपोर्टिङ गरेका थिए । रिपोेर्टिङका क्रममा विद्यार्थीले सरकारले निर्देशन गरेका कुराहरु त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा पोखरा विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा लागू नभएको भन्दै आलोचना गरेका थिए ।

सरकारको सफलता के हो भन्ने विषयमा उपस्थित केन्द्रीय नेताहरुलाई प्रष्ट पार्न आग्रह गर्दै सुनसरीका विद्यार्थी नेताहरुले सफलताको सूची उपलब्ध गराउन माग गरेका थिए । ‘सहभागी मध्येबाट जिल्लागत रुपमा रिपोर्टिङ लिइयो । पार्टी एकीकरणको विषयमा देखिएका कमजोरीहरु के के हुन् भनेर आएका छन्,’ एक जना सहभागीले भने, ‘सरकारले शैक्षिक क्षेत्रमा लगानी बढाउने कार्यक्रमहरु के–के ल्यायो ? सफलता प्राप्त गरेको कुरा खास के हो ? शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रको अहिलेको आवश्यकता के हो ? सफल असफलको आँकडा चाहियो भन्ने माग पनि उठेको थियो ।’ सरकारले सफलताका कुरा धेरै भयो भनिरहेको भएपनि त्यो सफलता के हो भन्ने कुरामा जनतामा भ्रम रहेको उनीहरुले बताएका थिए ।

‘खासगरी सुनसरीका विद्यार्थी नेताहरुले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा प्राप्त गरेको सफलता के हो भन्ने विषय उठाएका थिए, भने ताप्लेजुङका विद्यार्थी नेताहरुले भने त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयले चलाएका शैक्षिक कार्यक्रमरु विभिन्न समस्या देखाउँदै भर्चुअल कक्षा संचालन गर्न नसकेको र परीक्षा पनि संचालन गर्न नसकेको विषयलाई जोडदार उठाएका थिए,’ उनले भने, ‘समयमै परीक्षा सम्पन्न गर्ने र भर्चुअल कक्षालाई निरन्तरता दिने विषयमा ठोस कदम चलाउनु पर्नेमा सरकारको उनीहरुले ध्यानाकर्षण गराए ।’

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महर, पूर्व उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामा, सुनिता बराललगायतको उपस्थिति थियो । भेलामा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको पनि उपस्थिति रहेको बताइएको भएपनि स्रोतले अस्वीकार गरेको छ ।

भेलाले पार्टीको आन्तरिक संघर्ष चुलिएकाले त्यसलाई विस्तारै न्यूनीकरण गर्न लाग्ने, पार्टी एकताका लागि संघर्षरत रहने, संगठनको गतिविधिलाई चलायमान बनाउने, पार्टी एकतालाई जोड दिनका लागि अनेरास्ववियुका सबै जिल्ला कमिटिसम्म छलफल चलाउने, पार्टी एकतालाई कायम राख्न दबाब सिर्जना गर्ने लगायतका निर्णय पारित गरेको बताइएको छ ।

कार्यक्रममा फोटो तथा भिडियो खिच्न बन्देज लगाइएको थियो । एकपक्षीय रुपमा भेला गरेका कारण कार्यक्रममा पार्टीको झण्डा तथा ब्यानर प्रयोग नगरिएको बताइएको छ । भेलामा बोल्दै नेताहरुले पार्टीको आधिकारिक बैठकहरु विभिन्न आरोप लगाएर ल्याएको प्रस्तावमा छलफल गर्नु नहुनेमा जोड दिएका थिए । ११ बजेदेखि सुरु गर्ने भनिएको भेला दिउँसो १ बजेदेखि ५ बजेसम्म चलेको थियो ।

मङ्गलबार, २३ मंसिर, २०७७, दिउँसोको ०२:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर