अनन्तराज न्यौपाने
राजाले देश कहिल्यै बचाउँदैन र बनाउँदैन । अहिलेसम्म कुनै राजाले कुनै देश बचाएको र बनाएको ऐतिहासिक तथ्य छैन । सार्वभौम, अखण्ड नेपाल पनि अहिलेसम्म कुनै कथित विष्णुका अवतारले बनाएको र बचाएको होइन । बरु सात सालमा सपरिवार भागेर भारतमा आत्मसमर्पण गर्न गएको राजा त्रिभुवनलाई नेपाली जनताले दयापूर्वक ल्याएर गद्दीमा राखिदिएका हुन् । यो देश पृथ्वीनारायणले पनि बनाएको होइन । तिन ताक विश्वभरि साम्राज्यवादको लहर चलेको थियो । पृथ्वीनारायणले आफ्नो साम्राज्यको विस्तारमात्र गरेको हो, देश बनाएको होइन ।
साम्राज्यको विस्तार गर्न उसले सोझासाझा तर बलियाबाङ्गा नेपालीलाई प्रयोग ग¥यो । खास गरी मगर जातिलाई । यो जाति जन्मजात सोझो हुन्छ भनिन्छ । तर सीमा विस्तार गर्न सहयोग गर्ने कुनै नागरिकका हितमा पृथ्वीनारायणले केही गरेन । एउटा देशको निर्माण हुन त्यहाँ धेरै अङ्ग र तत्त्वहरू पूरा हुनुपर्छ । जनताका अधिकार र जनताको निर्णयलाई सर्वोपरि राखिनुपर्छ । जनताको भावनाको कदर गरिनुपर्छ ।
जनभावना र चाहनाअनुसारको शासन चलाइनु पर्छ । तर कीर्तिपुरे जनताको निर्दयता र निर्ममतापूर्वक नाक–कान काट्ने पृथ्वीनारायण एउटा क्रूर शासकबाहेक केही थिएन । उसले भूगोलको एकीकरण ग¥यो तर जनभावनालाई एकसूत्रमा बाँध्ने काम गरेन । आफ्नो निहित र व्यक्तिगत स्वार्थका लागि राज्यको भौगोलिक सिमानाको विस्तार गर्नुलाई राष्ट्रिय एकीकरण भन्न मिल्दैन । पृथ्वीनारायणले त्यही गरेको हो । यो कुरालाई मान्न नसक्ने काङ्ग्रेसी लठुवा र पटमूर्खहरूले तिनकै महान् नेता बिपी कोइरालाद्वारा लिखित दस्तावेजहरू पढून् । पढ्नु, चिन्तन र बहस गर्नु अनि एजेन्डामा छलफल गर्नु भुत्लोभाङ छ । अहिले काङ्ग्रेसको एउटा झुण्ड कमल थापा र राजेन्द्र लिङदेनको दासत्वमा हिँड्न थालेको छ ।
भन्न सक्तैनन् यी लठेब्राहरू– नेपालमा पहिलो पल्ट संविधानसभा, धर्म निरपेक्ष र समावेशी राजनीतिको सिद्धान्त प्रतिपादन गर्ने नेता बिपी कोइराला थिए भनेर । पढेलेखे पो थाहा पाउनु ? त्यसैले कहिले उनीहरू प्रचण्डको एजेन्डामा हुन्छन् र कहिले कमल थापाको । कस्तूरी मृगले आफ्नै नाइटाको कस्तूरी बिना चाल नपाएर उफ्रिएजस्तो आफ्नै सिद्धान्त र एजेन्डा बिर्सिएर काङ्ग्रेसको एउटा झुण्ड भौँतारिएको छ ।
तीन सालमा बिपीले नेपाली काङ्ग्रेसको गठन गर्दा नै धर्मनिरपेक्ष नेपाल राष्ट्रको सपना देखेका थिए । त्यसैले उनले पार्टीको झण्डाका चार तारामध्ये एक ताराको अर्थ गर्दै धार्मिक स्वतन्त्रता भन्ने व्याख्या गरे । धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षको सार एउटै हो । त्यसैले बिपीले २०१३ सालमा पनि धर्म निरपेक्ष नेपाल राष्ट्रका लागि वकालत गरे । सत्र सालको काण्डपछि २०१९ सालमा महेन्द्रले बनाएको संविधानमा नेपाललाई हिन्दु अधिराज्य लेखियो । बिपीले निर्वासनका बेला गोरखपुरमा पत्रकारहरूसित कुरा गर्दै यसको खुलेर विरोध गरे ।
पत्रकारहरूसित उनको भनाइ थियो, ‘नेपाल धर्मनिरपेक्ष राज्य हुनुपर्छ । के हिन्दु राज्य बनाएर मनुस्मृतिअनुसार शासन चल्छ ?’ बिपीले आफ्नो जीवनको उत्तराद्र्धमा २०३७ सालमा विश्वदूत नामको राजधानीको पत्रिकालाई अन्तर्वार्ता दिँदै उनले भने, ‘नेपाल निश्चय पनि धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ । हिन्दु राज्य भन्नु झेली हो ।’
काङ्ग्रेसका केही पाखण्डीहरू अहिले बिपीले आफ्नो जीवनको अन्तिम समयमा हिन्दु राज्यको वकालत गरेका थिए भनेर झुठको खेती गरिरहेका छन् । तर २००३ देखि २०३९ साउन ६ गतेसम्म अर्थात् आफ्नो राजनीतिक जीवन कालभरि बिपी धर्म निरपेक्षकै अडानमा देखिएका छन् । लठुवा काङ्ग्रेसीले बिपीका साहित्यको अध्ययन गरून् ।
‘राजा आऊ देश बचाऊ’, अहिले अनुप्रास मिलेको एउटा साङ्गीतिक आवाज सुनिन थालेको छ । यसरी मुलुक बचाउन प्रेत भइसकेको राजा गुहार्नेहरू लाछी हुन् । ती कायर हुन् । देश राजाले होइन जनताले बचाउने हो । जुलुसमा जानेहरू देश म बचाउँछु, हामी बचाउछौँ भनेर किन भन्न सक्तैनन् ?
पृथ्वीनारायणका कारण गोर्खा राज्यको भौगोलिक सीमा त विस्तार भयो तर राष्ट्र बन्न सकेन । राष्ट्र भनेको केवल भूगोल होइन, यथार्थमा जनता हो र जनताको भावना राष्ट्रियता हो । जनताले कुनै निर्णय गर्न नसक्ने राज्यलाई राष्ट्र भन्न सकिन्न । भौगोलिक सीमाका कारण कथित देश त हुन्छ होला तर राष्ट्र हुँदैन । जीवात्मा नभएको शरीरजस्तो मात्र हुन्छ । त्यही देशलाई प्राण भर्ने काम सात सालको क्रान्तिले गरेको थियो । सात सालको क्रान्तिपछि नै जनताको भावनाको कदर गर्ने परिपाटी सुरु भयो र राष्ट्रियताको वीजारोपण भयो । यति सरल कुरा पनि नबुझ्ने भुस्कोल काङ्ग्रेसीले बिपीका ऐतिहासिक लेख र दस्तावेजको अध्ययन गरून् ।
समग्रमा बिपीको राजा, राजतन्त्र वा राजसंस्थासितको सम्बन्ध व्यावसायिक प्रकारको थियो । बिपीको शर्त थियो, राजसंस्थाले लोकतन्त्र र जनताका आधारभूत अधिकारमाथि केही गर्दैन भने हामीलाई संवैधानिक राजतन्त्र स्वीकार्य छ नभए निरङ्कुश राजतन्त्र हामीलाई चाहिँदैन ।
नेपालको शाह वंशले लोकतन्त्र र जनताको मौलिक अधिकार चाहँदैन भन्ने सिद्ध भइसकेको छ । तत्कालीन राजा ज्ञानेन्द्र यसको पछिल्लो उदाहरण हो । त्यसैले फेरि पनि राजाका पक्षमा नाराजुलुस गर्नु भनेको फगत आत्मघाती कदम हो ।
जयप्रकाश गुप्ताले २०४७ सालतिर देशान्तर साप्ताहिकमा बिपीको अन्तिम र अप्रकाशित अन्तर्वार्ता भन्दै छापेको अन्तर्वार्तामा बिपीले भनेका छन्, ‘राजसंस्था भनेको सामन्ती व्यवस्थाको अवशेष हो । सभ्यताको विकासक्रमसँगै राजसंस्थाको औचित्य समाप्त हुँदै जान्छ र राजाहरू सकिँदै जान्छन् । मेरा यी मान्यताहरू गलत हुने भए संसारबाट यतिका विष्णुका अवतारहरू हराउने थिएनन् ।’
आज हामी एक्काईसौँ शताब्दीमा छौँ । सभ्यताको विकासको उत्कर्षमा छौँ । यति बेला पनि ‘राजा आऊ….’ भनेर दास मानसिकतालाई सडकमा मुखरित गर्नु केवल अज्ञान हो भन्नु गलत नहोला ।