सम्पादकीय
संयोग कि योजनाबद्ध ? करिब दुईतिहाई मतसहितको नेकपाको सरकारको लोकप्रियताको पारो झरेर पार्टी विवादमा रुमल्लिरहेको बेला राजतन्त्रको पक्षमा प्रदर्शनको क्रम चलिरहेको छ ।
काठमाडौं, पोखरा, जनकपुर, धनगढी, विराटनगर, चितवन, झापासहितका जिल्लामा लगातार गणतन्त्रको विरोध र राजनन्त्रको पक्षमा प्रदर्शन भइहरको छ । राजतन्त्रको पक्ष र संघीयताको विरोध गर्दै भइहरेका यस्ता प्रदर्शनको क्रममा झापामा भने राप्रपाले नेतृत्व लिएको छ । अन्यत्र भने विभिन्न व्यानरमा प्रदर्शन भएको थियो । राजावादीको प्रदर्शनमा राजतन्त्र पुनर्बहाली र हिन्दु राष्ट्र स्थापनाकै चार्क नारा लागिरहेको छ ।
पछिल्लो महिनाका घटनाक्रम हेर्ने हो भने दक्षिणपन्थी एजेन्डा बोकेर व्यवस्था उल्टाउने नाराबाजी गर्दै हिँड्नेहरूको सलबलाहट मुलुकभर फैलिएको छ । अनौठो विषय त यो छ कि गणतन्त्रको पक्षमा लडेकाहरुलाई विप्लब समूहसँग नजिक रहेको आरोपमा थुनामा पठाइरहेको सरकारले राजनन्त्रको पक्षमा र गणतन्त्रको विरुद्ध खुलेआम भइहरेका प्रदर्शनलाई भने रमिते बनेर हेरिरहेको छ ।
गणतन्त्रको विरोध र राजनन्त्रको पक्षमा प्रदर्शन गर्न पाउने अधिकार पनि अहिलेको गणतन्त्रले नै ल्याएको हो । हिजो शाहीकालमा गणतन्त्रको माग गर्नेहरुले जेल जानुपर्ने वा जीवन गुमाउनुपर्ने बाध्यता थियो । तर, अहिले गणतन्त्रको विरोध र राजतन्त्रको वकालत गर्ने छुट राजावादीहरुले पाइरहेका छन् । उनीहरुले अहिलेको संविधान खारेज गरि २०४७ सालको संविधान लागू गर्नुपर्ने माग गर्दै आएका छन् ।
विभिन्न ठाउँमा फरक–फरक ब्यानरमा प्रदर्शन हुने गरेका छन् तर यस्ता प्रदर्शनमा लगाउने नारा, लाउने टिसर्ट, बोक्ने प्लेकार्ड र झन्डा एकै खालका छन् । जुलुसमा हुने भाषणमा उनीहरूले व्यक्त गर्ने कुरा एउटै छन् । यसले यो प्रदर्शन प्रचार गरिएजस्तो स्वतस्पूmर्त भन्दा पनि नियोजित नै रहेको देखाउँछ । गणतन्त्रपछि बनेको सरकारले जनताको अपेक्षा अनुसार प्रभाबकारी काम गर्न नसकेको र केपी ओली नेतृत्वका वर्तमान सरकार असफल प्रायः भइसकेको मौकाको फाइदा लिने असफल प्रयासमा राजतन्त्र पक्षधर प्रतिगामी शक्तिहरु रहेको देखिन्छ । यसमा परिवर्तनका पक्षधर राजनीतिक दलहरुको सचेतनाको खाँचो छ ।
राजतन्त्रको माग सडकमा भइरहेपनि नेपालमा अब त्यो संभव छैन । चिहानमा पुगिसकेको राजतन्त्रको प्रेत फर्काउने प्रयासले अहिलेको परिवर्तनलाई केहि कमजोर बनाउला तर, परास्त गर्न सक्दैन । ज्ञानेन्द्र शाह र पारश साहहरु फेरि पनि मुलुकको शासन सञ्चालनको बागडोर सम्हाल्न आउँछन् भन्ने कल्पना बिकृत मानसिकताको उपज मात्र हो । जुन संभव छैन । तत्कालिन राजा विरेन्द्रको परिवारकै सामूहिक कत्लेआमपछि राजा बनेका ज्ञानेन्द्र र उनका गजडी छोरा पारशले फेरि मुलुकमा गर्ने शासन कस्तो होला ? नेपाली जनता स्पष्ट छन् । अर्कोतिर इतिहासको गति पछाडि फर्कँदैन । अगाडि बढ्छ ।
अहिलेको नेतृत्वप्रतिको नागरिक असन्तुष्टिले व्यवस्था परिवर्तन गर्ने ल्याकत राख्दैन । यद्यपी यसमा गणतन्त्रको नेतृत्व गर्ने दलहरु सच्चिने र जनताको अपेक्षा अनुसार आफ्नो जिम्मेवारी पुरा गर्नेतर्फ भने केन्द्रित हुनुपर्छ । निर्वाचनबाट परिवर्तनको लागि पाएको जनमतलाई नयाँ राजा बनाउन पाएको मतको रुपमा ब्याख्या गर्ने र सबैथोक मै हुँ भन्ने अहंकारी नेतृत्वले परिवर्तनको आन्दोलन कमजोर बनाउन खोजिरहेको छ । तर, यो दिगो हुनेछैन ।