विराटनगर/ सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती तिब्र बनाएको छ । सशस्त्र प्रहरी बल र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका हुन् ।
चाडपर्वको समयमा सीमा क्षेत्रको चोरबाटो प्रयोग गर्दै खुद्रे तस्करको दबदबा छ । खुला सीमा भएकाले आपराधीहरू सजिलै आफ्ना गतिविधि गरी वारिपारि गर्न सक्ने सुरक्षा अधिकारीको ठम्याइ छ । सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि, अवैध कारोवार, तस्करी रोक्न दुई देशका सुरक्षाकर्मीले दसगजा क्षेत्रमा संयुक्त गस्ती गरेका हुन् । नेपाल भारतबीच खुला सीमा भएकाले यहाँ हुने कुनै पनि गतिविधिले दुबै देशलाई असर पुग्ने सुरक्षा अधिकारीको भनाइ छ ।
अबैध रूपमा भित्रिने सामानका कारण सरकारी राजस्वमाथि प्रतिकुल असर पारिरहेकाले निरुत्साहित बनाउन संयुक्त पैदल गस्ती सुरु गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताउनुभयो ।
बुधबार सशस्त्र प्रहरी बोडर आउट पोष्ट रानी विराटनगर अन्र्गत पर्ने सीमा नाकामा संयुक्त गस्ती गरिएको थियो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रानीका प्रहरी निरीक्षक मौसम पोखरेलको नेतृत्वको टोलीले विराटनगर १७ इस्मालपुरस्थित रहेको १७९ सीमा स्तम्भ देखि विराटनगर १६ दरैयासम्म रहेको १८० सीमा स्तम्भसम्म संयुक्त गस्ति गरिएको थियो । सो स्थानसम्म करिब ३.२ किलोमिटर रहेको छ ।
दुवै देशका सुरक्षाकर्मीले सीमामा गस्ती र चेकजाँचमा कडाइ गरेका छन् ।
भारतसँग मोरङको किरब ६३ किलोमिटर सीमा जोडिएको छ । खुला नाका भएकाले सशस्त्र प्रहरीको बीओपीले नियमित रूपमा ज्वाइन्ट गस्ती सञ्चालन पनि गर्दै आएको छ । यसले आपराधिक क्रियाकलापका साथै सीमा क्षेत्रमा हुने चोरीतस्करी समेत नियन्त्रणमा आएको एसपी पौडेलको दाबी छ । सीमा क्षेत्रमा केही समययता खुद्रे तस्करले सुरक्षार्मीको आँखा छलेर साइकल, मोटरसाइकलमा सामानहरू ओसारपसार गर्दै आएको पाइएको छ । उनीहरू रातिको समयमा बढी चलखेल गर्न खोज्छन् । सशस्त्रले यस बीचमा कपडा लगायतका तस्करका सामान बरामद पनि गर्दै आएको छ ।