लायन्सको सहयोगमा बनेको बालगृह उद्घाटन

उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहको नवनिर्मित सुविधासम्पन्न आवासीय भवनको मंगलबार प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घघाटन गर्नुभएको छ ।

डेढ करोड रुपैयाँको लागतमा निर्माण गरिएको दुई तले भवनमा २० वटा कोठा रहेका छन् ।

भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले लायन्स क्लबले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । कोरोना भाईरस पुष्टि भएका विरामीको उपचारका लागि विराटनगरमा लायन्स क्लबको सहयोगमा आईसोलेसन केन्द्र निर्माण गरिएपछि उर्लाबारीमा अनाथ बालबालिकाका लागि भव्य भवन उद्घाटन गर्न पाएको भन्दै उहाँले धन्यवाद ब्यक्त गर्नुभयो । बालगृहको व्यवस्थापनका लागि आगामी दिनमा प्रदेश सरकारको तर्फबाट पनि सहयोग हुने मुख्यमन्त्री राईले बताउनुभएको छ ।

लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनबाट १ करोड १४ लाख, लायन्स क्लब अफ उर्लाबारी ४ लाख, लायन्स क्लब अफ उर्लाबारी आस्था ४ लाख, लायन्स क्लब अर्फ इन्टर्न मोरङ ४ लाख, लायन्स क्लब अफ विराटनगर गुराँसको ४ लाख र बाल गृहको २० लाख रुपैयाँ गरी डेढ करोड रुपैयाँमा भवन निर्माण गरिएको लायन्स क्लब अफ उर्लाबारीका अध्यक्ष नितम कार्कीले जानकारी दिनुभयो । शान्ति निर्माण सेवा काठमाडौंले ठेक्का लिएको सो भवन कोरोना भाइरसको संक्रमणका कारण निर्धारित समयमा भने सम्पन्न हुन नसकेर दुई महिना समय थप भएको थियो ।

कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडा, प्रदेश सांसद कुलप्रसाद साम्बा (लिम्बू)लगायतले बोल्नुभएको थियो । ४६ जना बालबालिका आश्रित बालगृहमा आवश्यक भवनको अभावमा कष्टकर तरिकाले बस्नुपर्ने बाध्यता भवन निर्माणसँगै हटेको अध्यक्ष मिना बरालले बताउनुभयो ।

मङ्गलबार, २७ असोज, २०७७, साँझको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर