यसरी भेटिन्छ हराएको मोबाइल

विराटनगर । विराटनगर–३ की अनिता निरौला किराना पसलको व्यापार गर्नुहुन्छ । उहाँको घरमै रहेको किराना पसलमा चार्जमा लगाएको मोवाइल एक महिना अगाडि चोरी भयो । विदेशबाट श्रीमानले पठाइदिएको सामसुङ कम्पनीको मोवाइलसहित झोलामा राखिएको ६ हजार रूपैयाँमा पनि चोरी भएको थियो ।

मोवाइल हराएपछि तत्काल निरौलाले जिल्ला प्रहरी कार्यालय मोरङमा मोवाइल खोजी गरिदिन आग्रह गर्दै निवेदन दर्ता गराउनुभयो । प्रहरी कार्यालयमा निवेदन दर्ता भएको एक महिनापछि उहाँको मोवाइल फेला परेको भन्दै प्रहरीले लिन बोलायो ।

‘तपाईंको हराएको मोबाइल फेला प¥यो, लिन आउनु होला’ एक महिनापछि मोरङ प्रहरी कार्यालयबाट अनितालाई फोन गयो । ‘म त छक्क परे चोरी भएको मोवाइल भेटियो,’ मोवाइल लिन सोमबार मोरङ प्रहरी कार्यालयमा पुग्नुभएकी अनिताले भन्नुभयो, ‘मोबाइल हराएपनि प्रहरीको सक्रियतामा फेला भने पर्ने रहेछ । मैले त आसा मारेको मोबाइल आज पाएको छु ।’

त्यस्तै मोरङ ग्रामथान ३ की प्रमिला निरौलाको गत जेठ १८ गते मोवाइल हराएको थियो । उहाँको पनि हराएको ५ महिनापछि प्रहरीले मोबाइल भेट्टाइदिएको छ । मोवाइल लिन आउनुभएका निरौलाले भन्नुभयो, ‘मोबाइल हराएपछि भेटिएला भन्ने आस थिएन तर साथीले प्रहरीलाई निवेदन दिए फेला पर्छ भनेपछि प्रक्रिया चालेकी थिएँ । आशा मारिसकेको मोइवल भेटियो ।’

सोमबार एकैदिन हराएको ५१ थान मोवाइल खोजी गरेर सम्बन्धीत मोवाइल धनीलाई मोरङ प्रहरीले बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/७७ मा मोरङ प्रहरीमा १ हजार ३ सय ५९ वटा मोवाइल चोरी र हराएको निवेदन दर्ता भएको छ । जसमध्ये आर्थिक वर्षमा चोरी तथा हराएको १ सय ८३ वटा सम्बन्धीत धनीलाई बुझाएको मोरङ प्रहरीले जनाएको छ ।

मोवाईल चोरी तथा लुटपाटमा संलग्न चार जनालाई प्रहरीले ‘डाका’ मुद्दा अदालतमा मुद्दा दर्ता गरेको छ । प्रविधिको प्रयोग गरेर हराएका मोबाइला फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरिदिने गरेको प्रहरीले जनाएको छ । डिएसपी राईले आफ्नो समानको सुरक्षामा आफूले पनि बढी चनाखो हुनुपर्ने सुझाब दिनुभयो ।
हराएको मोवाइलको खोजी गर्न जिप्रका मोरङमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली छ । मोबाइल हराएपछि पहिले प्रहरीकोमा निवेदन दर्ता गर्दा निवेदकले आईएमईआई कोडससमेत दिनुपर्छ । त्यो कोड र मोबाइल नम्बर प्रहरीको प्रधान कार्यालयमा पठाउँछ ।

सिडिआर भन्ने सिस्टममा त्यसलाई हालेपछि मोबाइलमा नयाँ सिम हालेर चलाए त्यसको कल डिटेल र लोकेसन प्रहरीले पत्ता लगाउँछ । ‘त्यसपछि मोबाइल चलाउने व्यक्तिलाई फोन गरेर प्रहरी कार्यालयमा आई बुझाउन भन्छौं,’ डिएसपी राईले भन्नुभयो, ‘अटेर गरे प्रहरी टोली परिचालन गरी सम्बन्धित ठाउँमै गई पक्राउ गरेर ल्याइन्छ ।’

मङ्गलबार, २७ असोज, २०७७, बिहानको ०८:५२ बजे

प्रतिक्रिया

  1. देखाउन को लागि 1 2 जनाको मोबाइल दिने अनि अरु जम्मै मोबाइल आ-आफैमा बाड्ने, नभइ अस्ति मोरंग जिल्ला प्रहरी कार्यालय बाट फोन आएर पनि किन मोबाइल दिएन

प्रतिक्रिया:

सम्बन्धित खवर