काठमाडौँ । राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार, सहयोगी, बालुवाटारमा कार्यरत चालकहरु र सुरक्षाकर्मीमा कोरोना देखिएपछि आइतबार ४ बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लागि स्थगित भएको हो ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठकको मिति तय नभएको जानकारी दिनुभयो । यसअघि शनिबार ४ बजे बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार, सचिवालयका कर्मचारी र पाँच दर्जन बढी सुरक्षाकर्मीमा एकैपटक कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो । प्रधानमन्त्री ओली शनिबारदेखि नै आइसोलनमा बसेर सबै भेटघाट बन्द गरेको बताइएको छ ।
पार्टीसँग परामर्श नगरी मुख्यसचिव र तीन राजदूतको नियुक्त गरेपछि नेकपामा पुनः असन्तुष्टि चुलिएको छ । असोज ४ मा बसेको सचिबालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र विविध एजेन्डा थिए ।
असोज ४ गते कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे मात्र छलफल भएको थियो । असोज ६ गते बालुवाटारमा बसेको बैठकमा बैठकले लामो समयदेखि संवैधानिक निकायका रिक्त पदमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको थियो ।
बैठकले १० दिनभित्र बाँकी सांगठनिक एकीकरणको प्रस्ताव बनाउन अयक्षद्वय ओली र दाहालसँगै महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो ।