विर्तामोड । कोरोना भाइरस संक्रमणको महामारीले पर्यटन व्यवसाय सिथिल बनेको बेला झापाको मेचीनगरमा पाँचतारे होटल सञ्चालनमा आएको छ।
मेचीनगर ८ स्थित धुलाबारीको निन्दा खोला नजिकै करिब डेढ अर्ब रुपैयाँ लगानीमा गरी ‘होटेल मेची क्राउन बाई द पीक’ सञ्चालनमा आएको हो ।
यो झापाकै पहिलो पाँचतारे होटेल हो। पूर्वी नाका काँकडभिट्टालाई लक्षित गरी सञ्चालनमा आएको पाँचतारे होटेल ८ बिगाहा क्षेत्रफलमा फैलिएको छ। फराकिलो बगैँचा, पानीको विशाल फोहोरा, हावा घर, हेलिप्याड, ५ सयभन्दा धेरै सवारी अट्ने पार्किङ, स्वीमिङ पूलसहितको निकै आकर्षक होटल सञ्चालनमा आएको अध्यक्ष पवित्राकुमार कार्कीले जानकारी दिनुभयो।
होटलमा १०५ वटा शयन कक्ष रहेको छ। जसमा पाँचवटा मेची सुइट्स, १० वटा एगजुकेटिभ, १९ वटा मेची क्लब र ७१ वटा डिलक्स रुम छ। सम्पन्न वर्गलाई लक्षित गरेर सुरु गरिएको होटेलमा नेपाली ४० प्रतिशत र ६० प्रतिशत विदेशी सेवाग्राही आउने अनुमान सञ्चालकको छ ।
विवाह, बैठक, सम्मेलन, सेमिनार जस्ता कार्यक्रमका लागि पनि होटेलमा सुविधासम्पन्न हलहरू रहेको छ। होटेलमा दुई वटा रेस्टुरेन्ट रहेको होटेलका जर्नल मेनेजर नितेश पोखरेलले बताउनुभयो। नेपालमै सबैभन्दा ठुलो क्यासिनोको रुपमा भेगास क्यासिनो यो होटलमा चाँडै सञ्चालनमा आउने व्यवस्थापन पक्षले जनाएको छ ।
क्यासिनो सञ्चालनमा आएपछि करिब ९ सय नेपालीहरूले प्रत्यक्ष रोजगार पाउने दावी कार्कीले गर्नुभयो ।