विराटनगर । पीसीआर परीक्षणका लागि परीक्षण मेसिन अभाव भएकोबेला मेसिन खरिदका लागि नागरिक समाजको आव्हानमा संकलन गरेको सहयोग रकमको हिसाव बुधबार सार्वजनिक गरिएको छ ।
नागरिक समाजको तर्फबाट स्वतःस्फुर्तरुपमा आव्हान गर्दा ७७ लाख ३७ हजार ३५४ रुपैयाँ सहयोग रकम संकलन भएको बुधबार प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ । पछि कोभिड राहत कोष परिचालन समिति मार्फत उक्त रकम परिचालन गरिएको थियो ।
संकलित रकमबाट एक थान पीसीआर मेसिन र एक थान आरएनए एक्स्ट्रासन मेसिन खरिद गरेको समितिले जनाएको छ । पीसीआर मेसिन ३१ लाख ६४ हजार रुपैयाँ र आरएनए एक्स्ट्रासन मेसिन ३१ लाख ९९ हजार ९९९ रुपैयाँमा गरी जमा ६३ लाख ६३ हजार ९९९ रुपैयाँ खर्च भएको हिसाव सार्वजनिक भएको छ । कोषमा १३ लाख ७३ हजार ३५४ रुपैयाँ रकम कोषमा बाँकी रहेको र समितिको निर्णय अनुसार मानवीय कार्यमा खर्च गर्ने पनि जनाएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुकोको अग्रसरतामा उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उपाध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका कोषाध्यक्ष नन्दकिशोर राठी, नेपाली काग्रेंस नगर समितिका कार्यवहाक सभापति अरुण न्यौपाने आदिको सक्रियतामा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।
अभियानका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले ७ लाख रुपैयाँ सहयोग रकम उपलव्ध गराउनुभएको थियो । त्यस क्रममा ४१ जनाले न्यूनतम २५ हजार रुपैयाँदेखि ७ लाख रुपैंयासम्म सहयोग गरेको कोभिड राहत कोष परिचालन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विषम परिस्थितिमा मानवीय सेवका लागि सहयोग गर्ने सबैलाई समितिले धन्यवाद ज्ञापन पनि गरेको गरेको छ ।