काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले मिटर रिडिङ नगरिएका ग्राहकलाई जरिवाना नतिराउन निर्देशन दिनुभएको छ ।
कोभिडका कारण मिटर रिडिङ नभएका ग्राहकको समेत जरीवाना लिने गरिएको गुनासो बढेसँगै मन्त्री पुनले यस्तो निर्देशन दिनुभएको हो ।
उर्जामन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । कोभिड–१९ का कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको छैन । मन्त्री पुनले यसअघि जरिवाना लिइएको भए उक्त रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिनुभएको छ ।
मन्त्रीको निर्देशनसँगै देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताउनुभयो ।