विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला र सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई मोरङ व्यापार संघले स्वागत भेटघाट गरेको छ ।
संघका अध्यक्ष प्रकाश मून्दडाले दुबै जनालाई संघमा स्वागत गर्दै मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्याहरुबारे अवगत गराउनु भएको थियो ।
लकडाउन र निषेधाज्ञाका साथै समय समयमा आकस्मिक रुपमा आईपर्ने समस्याहरुका कारण यस करिडोरका अधिकांश उद्योग व्यवसायहरुले ठूलो आर्थिक मारको सामना गरिरहेको मुन्दडाले बताउनुभयो । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको संरक्षण र पुनर्उत्थानका लागि सरकारले सहयोग हुनुपर्ने उहाँको भनाइ थियो ।
सामाजिक दुरी एवम् स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्दै संघमा आयोजित उक्त स्वागत कार्यक्रममा उपस्थित संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल, विशेष सल्लाहकार सुनिल टिवडेवाला, उपाध्यक्ष अनुपम राठी, महासचिव अनिलकुमार साह, कार्यकारी सदस्य श्याम राठीलगायतले पनिऔ द्योगिक व्यवसायिक समस्याहरु बारे जानकारी गराउनु भएको थियो ।
प्रजिअ निरौलाले संघले उठाएका विषयवस्तुहरु अत्यन्त सान्दर्भिक रहेको बताउँदै आफ्नो मातहतमा रहेका सुरक्षा, प्रशासनिक लगायतका निकायहरु मार्फत हरसम्भव साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको संघले जनाएको छ ।