भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

भोजपुर । भोजपुरमा करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालय स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि धरान, धनकुटा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् ।

आन्तरिक राजस्व कार्यालय भोजपुरका प्रमुख रमेश पौडेलले जिल्लाबासीको माग अनुरुप नै यो कार्यालय स्थापना गरिएको बताउनुभयो ।

सुनसरीको धरानस्थित आन्तरिक राजस्व कार्यालयको मातहतमा रहने गरी भोजपुरमा करदाता सेवा कार्यालयको सञ्चालन भएको हो । धरानस्थित आन्तरिक राजस्वका मातहतमा संखुवासभाको सदरमुकाम खाँदबारी र धनकुटाको सदरमुकाम धनकुटामा पनि करदाता सेवा कार्यालय सञ्चालनमा छ ।

भोजपुरमा २ हजार २ सयभन्दा बढी करदाता रहेको कार्यालयको अनुमान छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ । कार्यालयका प्रमुख रमेश पौडेलका अनुसार जिल्लामा रहेका करदातामध्ये कोही घरेलु उद्योग र कोही व्यापार गर्ने छन् ।

यसबाहेक २० लाखभन्दा कमको कारोबार गर्ने साना करदाताको संख्या ३ हजार ३ सय १४ छ । कार्यालयले दुबै खाले करदाताबाट चालु आर्थिक वर्षमा १० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

मङ्गलबार, ०६ असोज, २०७७, साँझको ०७:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर