मन्त्रीहरुको हेरफेरका आधारबारे नेकपामा छलफल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकमा सरकारको प्रभावकारी सञ्चालन र मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको छ ।

आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकपछि आज पेरिसडाँडामा बसेको सचिवालय बैठकमा संघीय मन्त्रिपरिषदका सदस्यको हेरफेरका विभिन्न विकल्प लगायत बिषयमा छलफल भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा नीतिगत मापदण्ड तयार गरेपछि प्रधानमन्त्रीले मन्त्रीहरुको हेरफेर गर्ने जानकारी दिइएको छ । तर बैठकमा यसबारे कुनै निष्कर्ष भईसकेको छैन । साथै संवैद्यानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठनिक काम र योजना बारेमा पनि बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी कोरोना महामारीका समयमा संघीय सांसदले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको जनाईएको छ । बैठक सोमबार अपराह्न पुनः बस्नेछ । स्थायी कमिटीको गत बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारितपछि विवाद टुङ्गिएको थियो । स्थायी कमिटीको सो बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टी काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्य विभाजनको प्रस्ताव पारित गरेको थियो ।

सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक तय गरेको थियो । रासस

आइतबार, ०४ असोज, २०७७, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर