पैसा सापटी माग्दा नदिएपछि दाजुबहिनीको हत्या !

खोटाङ । खोटाङस्थित जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको हत्या पैसा सापटी नदिएकै कारण भएको खुलेको छ ।

एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेको अभियुक्तले यस्तो बयान दिएको खोटाङ प्रहरीको दाबी छ ।

प्रहरीले हत्या भएको तीनदिन पछि गत भदौ २० गते सोही ठाउँका ३३ वर्षीय दुर्गा भनेर चिनिने दुर्गाबहादुर राईलाई प्रहरीले पक्राउ गरेको थियो । वृद्धवृद्धा श्रेष्ठ दाजुबहिनी हुन् ।

पक्राउ परेका राईले पैसा सापटी माग्दा नदिएको झोकमा आफूले श्रेष्ठ दाजुबहिनीलाई खुकुरी प्रहार गरेर हत्या गरेको स्वीकारेको खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको बताउनु भयो ।

अविवाहित रहेका दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत रहेकाले उनको हेरचाह गर्न बहिनी गोपीमाया केही समयदेखि माइती घरमै बसेकी थिइन् । आफ्नै घरबाट खुकुरी बोकेर गएका अभियुक्त राईले दाजु ईन्द्रबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेपछि प्रतिकारमा उत्रिएकी बहिनी गोपीमायालाई समेत खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीको दाबी छ ।

मृतक दाजुबहिनीको घर एकान्तमा भएकाले घटनाको बारेमा तीन दिनपछि मात्र जानकारी पाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताउनुभयो ।

– रासस

मङ्गलबार, २३ भदौ, २०७७, रातीको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर