लीलावल्लभ घिमिरे
कोरोनाको कहर यतिबेला हामी सबैको घरआँगनमा छ । सामाजिक सञ्जाल, पत्रपत्रिका, अनलाइनदेखि रेडियो टेलिभिजन मात्र हैन, मोवाइल उठाउँदासमेत कोरोनाकै कहर सुनिन्छ । यति मात्र हैन, अचेल हाम्रो दैनिकी नै कोरोनाबाट सुरु हुन्छ । कसैलाई फोन ग¥यो, चिया पसल, चोक जहाँ जो भेटिएपनि कोरोनाबाट गफगाफ सुरु हुन्छ । लामो समयदेखिको लडकडाउन र निषेधाज्ञाले सर्वसाधारण आक्रान्त छ । अबको बाँकी जिन्दगी कहिलेसम्म र कसरी चल्छ भन्ने प्रश्नको उत्तर आज कसैलाई थाहा छैन । जताततै कोरोनाको कहर सुनिरहेका बेला एउटा भिन्न र रमाइलो खाले समाचार अनलाइनहरुमा पढ्न पाइयो । हाम्रो प्रदेशका मुख्यमन्त्रीको विवाह हुनेभयो ।
कसैको विवाह हुनु र नहुनेले मिडियामा त्यत्रो चर्चा पाइहाल्नुपर्छ भन्ने हुदैन् । विवाहका समाचार प्रायः फिल्मका हिरो वा हिरोनीहरुका बन्ने गर्छन् । तर, कहिलेकाँही नेताहरुका विवाहका प्रसंगहरुले पनि नेपाली मिडियामा ठाउँ नपाएका हैनन् । यसपटक हाम्रो प्रदेश १ का मुख्यमन्त्रीको विवाहका बारेमा केहि लेख्न मन लाग्यो । झण्डै ५० पुगिसकेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अझैसम्म अविवाहित हुनुहुन्छ । उहाँले पहिलो पटक नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा निर्वाचित भएपछिको पत्रकार सम्मेलनमा भन्नुभएको थियो, ‘आफ्नो जीवनको एउटा पाटो अधुरै छ । त्यसलाई म चाडै पूर्णता दिन्छु ।’ तर, उहाँको यो बाचा राजनीतिक नारा जस्तै भएको छ । बोलेको अढाइ वर्ष वित्नलाग्दासमेत उहाँले आफूले बोलेको बाचा पुरा गर्न सक्नुभएको छैन ।
यसैसाता मुख्यमन्त्री शेरधन राईसँग प्रदेश १ सरकारले सञ्चालन गरिरहेको ‘म अघि बढ्छु’ कार्यक्रम अन्तर्गतको ‘सगरमाथा टिन्स क्लब’ का विद्यार्थीहरुसँग प्रश्नोत्तर कार्यक्रम थियो । कोरोना महामारीले गर्दा भर्चुअल माध्यममा आयोजना भएको कार्यक्रम सहभागी विराटनगर पोखरीया माविकी कक्षा १० की छात्रा योजना नेपालले प्रश्न गरिन्– ‘भन्छन्, हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ रे । तर, मुख्यमन्त्रीज्यू ! तपाई त अहिलेसम्म अविवाहित हुनुहुन्छ, अनि तपाईको सफलताको श्रेय चाँही कसलाई दिनुहुन्छ नि ?’
उनको प्रश्न निकै गम्भीर थियो । तर, मुख्यमन्त्री राईले उनको यो प्रश्नको उत्तर पनि पत्रकारलाई दिएकै शैलीमा दिनुभयो । ‘मलाई सबैले सबै ठाउँमा प्राय गरिरहने प्रश्न पनि यही नै हो । तर, म निरास छैन । चाँडै नै आफनो लक्ष्य पुरा गरेपछि बिहे गर्छु । मैले प्रदेशको नामाकरण गराएपछि बिहे गर्ने भनेको छु । सायद चाँडै हुन्छ होला, यही मंसिर, पुस, माघसम्ममा ।’
मैले यहाँनेर बुझ्न नसकेको कुरा चाँही प्रदेशको नामाकरणसँग उहाँको विवाह कसरी जोडिनपुग्यो ? के प्रदेशको नाम राख्न सक्नुभएन भने उहाँ अविवाहित नै बस्नुहुन्छ त ? यसको अर्थ यो पनि हुनसक्छ । प्रदेशको नाम निकै जटिल बन्दै गएको छ । प्रदेश १ को नाम के हुने भन्ने बारेमा दुईतिहाइ मत रहेको नेकपाभित्र नै एकमत छैन । यसैले अहिलेसम्म प्रदेश सरकारले नामाकरण सबन्धी प्रस्ताव प्रदेशसभामा दर्तासमेत गराउन सकेको छैन । हुन् त यतिबेला प्रदेशको नाम भन्दापनि कोरोना सकिएपछि विवाह गर्छु भन्नुभएको भए मुख्यमन्त्रीज्यूलाई सहज हुनेथियो ।
मुख्यमन्त्रीको विवाह प्रदेश १ वासी मात्र हैन, अरुलाई पनि चियोचर्चा बन्ने गरेको छ । नेपालीमा एउटा उखान छ । विहे नगरी, छोराछोरी नजम्माइ र एउटा घर नबनाई छोरो मान्छे पक्का हुदैन । त्यसो भनिरहँदा हाम्रो मुख्यमन्त्री ज्यूलाई अपरिपक्व चाँही भन्न खोजेको हैन । तर, विवाहबाट किन यसरी एकपछि अर्को वहाना खोज्दै पन्छनुहुन्छ भन्ने जिज्ञाशा मात्र हो ।
यदि साच्चीकै इच्छा हो भने विवाह गर्नलाई प्रदेशको नामकारण वा अन्य कुनै कुरा जोड्न पर्दैन । आफूले भनेजस्ति कन्या फेला नपर्दा चाही समस्या हुने हो । तर, हाम्रो जस्तो हेन्डसम मुख्यमन्त्रीलाई पक्कै पनि यो समस्या छैन । उहाँले विवाहका लागि हात मात्र उठाउनु भयो भने एकसे एक परिहरुको जुलुश नै निवाससम्म आईपुग्छ । कन्या नपाउन त अनुहार नपरेको, नपढेको, केही काम नगर्ने, घरबारको टुङ्गो नभएको भए एउटा कुरा तर यहाँ त आम बरहरुको भन्दा कयौं गुणा बढी गुण मुख्यमन्त्रीसँग छन् । त्यसमा पनि प्रदेश १ कै प्रथम लेडी बन्न पाउने अवसर छ ।
यसो भनिरहँदा के त मुख्यमन्त्रीको कसैसँग प्रेम छ र उहाँले सामाजिक तथा राजनीतिक रुपमा अप्ठ्यारो पर्ने भएर विवाहलाई यसरी टारिराख्नु भएको हुनसक्छ भन्ने कुरा पनि आउनसक्छ । तर, त्यो पनि अहिलेसम्म उहाँको व्यवाहार चलचलनले हैन भन्ने देखाएको छ । आफ्नो कुलजातको नै खोजेर बस्नु भएको हो भन्ने कुरामा पनि विश्वास लिन सकिदैन । किनभने सानै उमेरदेखि राजनीतिक प्रशिक्षणमा हुर्कनुभएका मुख्यमन्त्रीलाई यस्ता कुराले छेक्न सक्दैन भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । २७ वर्र्षको उमेरमै सांसद बन्द सफल भएको र केन्द्रीय सरकारको सञ्चारमन्त्री हुँदै मुख्यमन्त्री बनिसक्नु भएका राईको मुख्यमन्त्री हुँदै विवाह भएको खबर थाहा पाउने इच्छा प्रदेशबासीको छ । उहाँका मातापिताको त झनै कति होला ? हुन त यति बेला नै विवाह गर्ने भन्नु भने धेरैले भोज खान नपाउलान् । तर, साल तमामीको एनभर्सरीतिर भएपनि मिलाएर भोज खाउँला । त्यो चिन्ताको विषय भएन । अहिले भनेको मुख्यमन्त्री ज्यूको घरजमकै चिन्ता हो ।