विराटनगर । प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । सोमबारसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोमबार १ हजार ८६० जनाको परीक्षण भएको छ । हालसम्म परीक्षण गरिएकामध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १७७ को पोजेटिभ आएको छ ।
मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट २ हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ । सबैभन्दा धेरै ३१ हजार २६७ जनाको परीक्षण मोरङमा गरिएको छ । मोरङमा अहिलेसम्म २ हजार ४५ जनामा संक्रमण देखिएको छ ।
सुनसरीमा २३ हजार ६७९ र झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ४ वटा प्रयोगशालाबाट अहिले पीसीआर परीक्षण हुँदै आएको छ ।
वीपीमा सबैभन्दा पहिले चैत १८ गतेबाट, कोशीमा चैत २९ गतेबाट, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा वैशाख १९ गतेबाट र मेची अस्पतालमा साउन ३० गतेबाट पीसीआर परीक्षण शुरु भएको हो ।