प्रशंसा र भजन मात्रै गाउनेहरुले डुबाउँछन्ः श्रेष्ठ

विराटनगर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आलोचनात्मक चेत नभएका र प्रशंसा मात्र गर्नेहरुले नेतृत्वलाई डुबाउने बताउनुभएको छ ।

साँच्चैका हितैषीहरुले आफूले ठिक नदेखेको कुरा समयमै भन्नुपर्नेमा जोड दिँदै श्रेष्ठले त्यसले नेतृत्वलाई गल्ती गर्न वा पतनबाट बचाउने टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा सोमबार स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले निहित स्वार्थकेन्द्रित अन्ध चाकडीवाजहरुले प्रशंसा र भजन मात्रै गाएर डुवाउने उल्लेख गर्नुभएको छ । पार्टीभित्र नेतृत्वको आलोचनालाई गलत ढंगले बुझ्न नहुने बताउँदै आउनुभएका उहाँले नेकपा स्थायी समिति बैठक बस्ने तयारी भइहरेको बेला राख्नुभएको स्टाटस कोप्रति लक्षित हो भन्ने स्पष्ट भने छैन ।

प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ, ‘आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले आफूले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ती गर्न वा पतनबाट बचाउँछन्, जवकी निहीत स्वार्थ केन्दृत अन्ध चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन् ।’ श्रेष्ठले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गर्न र स्वार्थी अन्ध प्रशंसकबाट सचेत हुन पनि आह्वान गर्नुभएको छ ।

‘बिचारसहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्याइँ नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नुअघि संसयकारी जस्ता देखिन सक्छन्’ श्रेष्ठको भनाइ छ,‘तर, बिचारसहितका विवेकीहरु नै सुरा मुर्खहरुभन्दा भरपर्न लायक हुन्छन् ।‬’ उहाँले ‪लोकतान्त्रिक पद्दतिमा जोड दिँदै यसो गर्दा केही प्रक्रियागत ढिलाई हुनसक्ने भएपनि बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता काम राख्नुपर्ने उल्लेख गर्नुभएको छ ।

निरङ्कुश तानाशाहीतन्त्र चाहनेलाई छलफलको झञ्झटबाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्नसक्ने भएपनि लोकतन्त्र नै उत्तम विकल्प भएको उहाँको भनाइ छ ।

सोमबार, २२ भदौ, २०७७, दिउँसोको ०३:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर