विराटनगर । विराटगनरमा कोरोना बिमा गराउनेको संख्या बढेको छ । कोरोना भाइरस संक्रमण समुदायमा फैलिएसँगै बिमा गराउनेहरुको संख्या बढेको हो । सरकारले कोरोना बिमा गर्न चाहने नागरिकलाई प्रिमियममा आधा छुट दिने निर्णय गरेकोले पनि छुट सुविधा लिएर बिमा गराउनेहरु बढेका हुन् । केही दिन यता बिमाका लागि सिफारिस माग्न आउनेहरुको वडा कार्यालयमा चाप बढेको छ ।
कोरोना संक्रमण भएको खण्डमा एक लाख रुपैंयासम्म क्षतिपूर्ति पाउने र सो रकमबाट व्यक्तिको उपचारमा सहयोग पुग्ने भएकोले नगरबासीहरु कोरोना बिमा गराउन तत्पर देखिएका हुन् । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमै कोरोना बिमा गर्दा नागरिकलाई प्रिमियममा ५० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।
कोरोना संक्रमण बिमा गराउँदा प्रतिव्यक्ति ६ सय रुपैंया भुक्तानी गर्दा १ लाख रुपैंया बराबरको जोखिम बहन हुने व्यवस्था बिमा कम्पनीहरुले गरेका छन् । स्थानीय सरकारको सिफारिस भएको खण्डमा व्यक्तिले ३०० मात्र प्रिमियम बुझाउनु पर्छ ।
विराटगनरमा कोरोना संक्रमित दैनिक रुपमा बढिरहेका छन् र शुक्रबारसम्म एक हजार २०६ जनामा संक्रमण पुष्टि भइसकेको छ । कोरोना महामारीबाट असुरक्षित महशुस गरेका नगरबासीहरु अहिले कोरोना बिमाका लागि सिफारिस लिन आइरहेको विराटनगर महानगरपालिका ४ का वडासदस्य सुशिला पोखरेलले बताउनुभयो ।
संक्रमण फैलिरहेको बेला सम्भावित संक्रमणबाट जोगिन र बिमा गरेर आार्थिक सुरक्षाको विधि अवलम्बन गर्न वडाका जनप्रतिनिधिहरुले सचेतनामूलक सूचना प्रवाह गरेका कारण वडामा बिमा गराउनेहरु बढेको वडाध्यक्ष देवेन्द्रराज पोखरेलले जानकारी दिनुभयो ।
अन्य वार्डको तुलनामा विराटनगर ४ मा बिमाको सिफारिस सजिलै दिने गरिएको छ । सेवाग्राही धेरैबेर बस्न नपर्ने र धेरै झन्झट नहुने गरी सिफारिस दिने गरिएको हुँदा स्थानीयले खुसि व्यक्त गरेका छन् । वडाले सिफारिस दिएपनि कतिपय बिमा कम्पनीहरुले बिमा नगरिदिने, बिमा गर्न फेरी कम्पनीमा पुग्नु पर्ने आदि समस्या हुने भएकोले जनप्रतिनिधिहरुले पहल गरेर कार्यालय नजिक बिमा कम्पनीको एजेन्ट बस्ने प्रवन्ध गरिदिएका कारण पनि नागरिकलाई सजिलो भएको हो ।
विराटनगर ४ की ७६ वर्षे जानुका घिमिरेले भन्नुभयो ‘म भर्खरै आएँ, सिफारिस बनाइदिनुभयो, बाहिर गएर पैसा पनि तिरें सजिलैसँग काम भयो ।’ उहाँले सजिलै बिमा गर्ने गरी व्यवस्थापन मिलाइदिएकोमा वडाध्यक्ष लगायत सबै जनप्रतिनिधिप्रति खुसि व्यक्त गर्नुभयो ।
महामारीको बेला नागरिकको स्वास्थ्य सुरक्षाको संवैधानिक हकको रक्षा गर्नुपर्ने दायित्व भएकोले सिफारिस माग्नेहरुलाई कागजपत्र र निवेदनसम्मको झन्झट नदिएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । ‘अहिले देशव्यापी महामारी छ र सरकारले नागरिकहरुलाई बिमा गरेर आर्थिक सुरक्षा गर्न आव्हान पनि गरेको छ,’ पोखरेलले भन्नुभयो ‘हाम्रो वार्डका नागरिक र यहाँ बसोबास गरिरहेका नेपालीहरुलाई सहजरुपम सिफारिस दिएका छौं ।’ उहाँले पछिल्लो तीन दिनमा मात्र २५० जना भन्दा बढीले वडाबाट सिफारिस लिएर बिमा गराएको जानकारी दिनुभयो । त्यस अघि करिव ५० जनाजति मात्र सिफारिस लगेका थिए ।
यसैगरी विराटगनगरका प्रायः सबै वार्डहरुमा पछिल्लो समय बिमा गराउनेहरुको संख्या बढेको महानगरका सामाजिक विकास अधिकृत पुनम दाहालले जानकारी दिनुभएको छ । संक्रमणको त्राससँगै छुट सुविधामा बिमा गर्न खोज्नेहरु बढेको उहाँको भनाई छ ।