अनावश्यक दबाबपछि बीपीको कोभिड अस्पताल प्रमुख डा.पोखरेलको राजीनामा

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ अस्पताल प्रमुख डा.कृष्णा पोखरेलले राजीनामा दिनुभएको छ ।

पोखरेलले प्रतिष्ठान व्यवस्थापन पक्षले औषधी खरिदमा अनावश्यक दवाव दिएको र संक्रमितको उपचारमा अग्रपंत्तिमा खटिएका चिकित्सकहरुको मनोबल गिराउने काम भएको भन्दै राजीनामा दिनुभएको हो ।

प्रतिष्ठानको कोभिड अस्पतलमा चाहिने औषधी खरिदमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले माग फारामभन्दा अन्य औषधीमा पनि हस्ताक्षर गर्न लगाएकोले पोखरेलको राजीनामा आएको हो । संक्रमित बिरामीको उपचारमा चाहिने औषधी भने समयमा उपलब्ध नगराएको भन्दै डा.पोखरेलले राजिनामा दिएको प्रतिष्ठानको कोभिड अस्पताल स्रोतले जनाएको छ ।

डा.पोखरेलले सोमबार प्रतिष्ठानका उपकुलपती डा.गिरीसमक्ष राजीनामा दिनुभएको हो । अस्पताल प्रमुखका रुपमा निर्वाध रुपमा काम गर्ने वातावरण नभएकोले राजीनामा दिएको उहाँको भनाइ छ ।

अस्पताल प्रमुखबाट राजीनामा दिएपनि बिरामीको उपचारलाई भने निरन्तरता दिइरहने डा. पोखरेलको भनाइ छ । पोखरेल प्रतिष्ठानको एनेशथेसिया विभागकी प्रोफेसर हुन् ।

कोभिड अस्पतालमा संक्रमित बिरामीको उपचारमा लाग्ने औषधीलगायतका सामाग्री खरिद गर्दा माग फारामभन्दा बढी खरिद गर्न दबाब दिनुले उपकुलपति गिरीमाथि प्रश्न उठेको छ । प्रतिष्ठानको चिकित्सकहरुको संस्था मेडिकल तथा डेण्टल फेगल्टी वयलफेर सोसायीटीका अध्यक्ष डा.विष्णु पोखरेलले कोभिड अस्पताल प्रमुखले राजीनामा दिनुपर्ने अवस्था आउनु दुखद् भएको प्रतिक्रिया दिनुभयो ।

कोभिड अस्पताललाई शुरुवातदेखि नेतृत्व प्रदान गर्नुभएकी डा.पोखरेलको राजीनामाले प्रतिष्ठानमा काम गर्ने वातावरण राम्रो नभएको पुष्टि हुने चिकित्सकहरुको भनाइ छ । प्रतिष्ठानमा डा. पोखरेललाई इमान्दारीपूर्वक काम गर्ने मान्छेको रुपमा चिनिन्छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले राजीनामाबारे औपचारिक जानकारी आपूmलाई नआएको बताउनुभयो । ‘मैले राजीनामाबारे औपचारिक जानकारी पाएको छैन’ उहाँले भन्नुभयो, ‘औपचारिक जानकारीविना त्यसबारेमा बोल्न मिलेन ।’

मङ्गलबार, १६ भदौ, २०७७, दिउँसोको ०२:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर