सहयोग जुटाएर खरिद गरिएको पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीको सहयोगमा खरिद भएको कोरोना परीक्षण गर्ने पीसीआर मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।

सोमबार महानगरपालिकामा प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेको रोहबारमा विराटनगर महानगरपालिकालाई सहयोगीहरुले हस्तान्तरण गरेको मेसिन महानगरले अस्पताललाई हस्तान्तरण गरेको हो ।

महानगरका प्रमुख भीम पराजुलीकै पहलमा दाताहरुको सहयोगमा पिसिआर मेसिन खरिद गरिएको हो । विराटनगरमा समुदायस्तरमा कोरोनाको संक्रमण देखिएको अवस्थामा प्रदेशको पीसीआर ल्याबले महानगरका नागरिकको पर्याप्त रुपमा स्वाब परीक्षण नगरेको गुनासो आइरहेको बेला सहयोग जुटाएर पीसीआर मेसिन खरिद गरिएको हो ।

थप मेसिन कोशी अस्पतालको प्रयोगशालामा स्थापना भएपछि संक्रमितको पहिचान र उपचारका लागि सहज हुने महानगर प्रमुख पराजुलीले बताउनुभयो । मेसिन २८ लाख रुपैयाँ लागतमा खरिद गरिको हो । मेशिनबाट अहिले दैनिक १ सय ५० जनाको पिसिआर परिक्षण गर्न सकिने र आरएन एक्सट्राक्सन किट खरिद गरिसकेपछि दैनिक १ हजार ५ सयको परिक्षण गर्न सकिने महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । किट खरिदको प्रक्रिया अघि बढिसकेको उहाँको भनाइ छ । दाताहरुकै सहयोगमा आरएन ए एक्ट्राक्सन मेसिन को प्रक्रिया अगाडि बढिसकेको महानगरले जनाएको छ ।

विराटनगर महानगरपालिकाले परिक्षणको दायरा बढाउन निजी क्षेत्रसँग सहकार्य गरिरहेको छ । महानगरपालिकाले रोटरी क्लबसँग प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई आर.एन एक्स्ट्राक्सन मेशिन र बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिसिआर मेशिन दिने सम्झौता गरेको छ । बि.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेशिन हस्तान्तरण गरिसकेपछि दैनिक थप २ सय ५० जनाको पिसिआर परिक्षण गर्न सकिने पराजुलीको दाबी छ ।

कोशी अस्पतालमा मेसिन सञ्चालन र प्रयोगशाला व्यवस्थापनका लागि महानगरपालिकाले २५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । मेसिन स्थापना भएपछि महानगर मात्र नभएर प्रदेश १ कै नागरिकलाई फाइदा पुग्ने सामाजिक विकासमन्त्री जीवन घिमिरले बताउनुभयो । कोरोना महामारी नियन्त्रणमा प्रदेश सरकारले तीन तहसँग समन्वय गरेर काम गरिरहेको घिमिरेको भनाइ छ ।

पीसीआर मेसिन खरिदको लागि महानगर प्रमुख पराजुलीले एक वर्षको सुविधा वापतको रकम ५ लाख रुपैयाँ प्रदान गर्नुभएको छ । यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले ७ लाख रुपैयाँ, उद्योगी तुलसीराम अग्रवालले ५ लाख रुपैयाँ, गोल्छा हाउसले ५ लाख रुपैयाँ, प्रदीप मुरारकाले ५ लाख रुपैयाँ, भाटभटेनी सुपरमार्केटले ५ लाख रुपैयाँ, उद्योगी अविनाश बोहोराले २ लाख रुपैयाँ, प्रदेशसभा सदस्य केदार कार्कीले १ लाख रुपैयाँ, उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले १ लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।

उद्योग संगठन, व्यापार संघले पनि थप सहयोग गर्ने प्रतिद्धता जनाएको महानगर प्रमुख पराजुलीले जानकारी दिनुभयो । निजी क्षेत्रबाट मेसिन खरिद र सञ्चालनका ६० लाख रुपैयाँ सहयोगको प्रतिवद्धता आएको उहाँको भनाइ छ ।

सोमबार, ०८ भदौ, २०७७, दिउँसोको ०३:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर