विराटनगर । विराटनगरमा आईतवार राति थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।
आईतबार कोरोना पुष्टि भएपछि घरमै रहेका उनको स्वास्थ्य अवस्थामा समस्या भएपछि उपचारका लागि कोभिड अस्पताल लगिएको थियो । अस्पताल ल्याएको एक घण्टामै उनको मृत्यु भएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिनुभयो। श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका उनको अवस्था अस्पताल पुग्दा गम्भीर बनिसकेकोले बचाउन नसकेको अस्पतालले जनाएको छ ।
परिवारकै एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वाब संकलन गरिएकोमा आइतबार गरेर पोजेटिभ रिपोर्ट आएको थियो । पोजेटिभ आएपनी घरमै रहेका उनलाई स्वास्थ्यमा समस्या थपिएपछि राति उपचारका लागि कोभिड अस्पताल लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
मृतकका परिवारमा दुुई वर्षीया नाबालिकासहित अरु तीन जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको छ । तीनै जना अहिले ‘होम आइसोलेसन’मा छन् ।
योसगै हालसम्म कोरोनाबाट संक्रमित विराटनगरका एक महिलासहित १० जनाको मृत्यु भएको छ । मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ भने प्रदेश १ मा २१ जनाको मृत्यु भएको छ । जसमा ३ जना सुनसरीको धरानका छन भने ४ जना प्रदेश २ का हुन ।