विराटनगरबाट आएका ३ प्रहरीलाई कोरोना

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ जरायोटारस्थित होल्डिङ एरियामा रहेका ३ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भदौ २ गते विराटनगरबाट सरुवा भएर भोजपुर आएका सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरीमा कोरोना देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलका अनुसार विराटनगरस्थित पूर्वी क्षेत्रीय तालिम केन्द्र रानीबाट भोजपुर आएका संक्रमित तीनै जनालाई भोजपुर प्रवेश गर्नुअघि होल्डिङ एरियामा राखिएको थियो । भदौ ३ गते होल्डिङ एरियाका ३२ जनाको पीसिआर परीक्षण गरिएकोमा तीन जनाको रिपोर्ट पाजिटिभ आएको हो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । छिमेकी जिल्लाहरुमा संक्रमणको दर उच्च रहेकाले कोरोना विशेष अस्पतालहरुले लक्षणबिनाका संक्रमितलाई भर्ना नलिने भएकाले संक्रमित तीनै जनालाई भोजपुर नगरपालिका–१२ स्थित पर्यटकीय सूचना केन्द्रको भवनमा राखिएको छ ।

शनिबार, ०६ भदौ, २०७७, दिउँसोको ०३:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर