विराटनगरमा सहयोग जुटाएर पिसिआर मेसिन खरिद

कोशी अस्पतालको ल्याबमा स्थापना गरी परीक्षण दर बढाउने तयारी

विराटनगर । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा पिसिआर परीक्षणको दर बढाउन चन्दा संकलन गरेर पिसिआर मेसिन खरिद गरिएको छ ।

प्रदेश सरकार मातहत सञ्चालनमा रहेका प्रयोगशालामा महानगको न्युन मात्र स्वाब परीक्षण भएको र ७ दिनसम्म परीक्षणको रिपोर्ट नआउने समस्या रहेको बेला महानगर प्रमुख भीम पराजुलीको अगुवाईमा पिसिआर मेसिन खरिद गरिएको हो ।

कोशी अस्पताल विराटनगरको प्रयोगशाललामा स्थापना गर्नेगरि खरिद गरिएको कायाजन ७२ बेल कम्पनीको पिसिआर मेसिन आज आइपुग्ने महानगर प्रमुख पराजुलीले जानकारी दिनुभयो । मेसिन खरिदको लागि महानगर प्रमुख पराजुलीले आफ्नो एक वर्षको सुविधा वापतको रकम ५ लाख रुपैयाँ प्रदान गर्नुभएको छ । त्यसबाहेक उद्योगी व्ययवसायी दाताहरुले रकम जम्मा गरेर मेसिन खरिद गरिएको छ ।

संक्रमण बरिहेको भएपनि आवश्यक मात्रामा परीक्षण नभएको र परीक्षणको रिपोर्ट ढिलो भएको गुनासो बढेपछि पिसिआर मेसिन खरिदको काम अगाडि बढाएको पराजुलीले बताउनुभयो । महानगरले खरिद गर्दा टेण्डर गर्नुपर्ने र समय धेरै लाग्ने भएपछि आफ्नै पहलमा सहयोगी जुटाएर मेसिन खरिद गरिएको उहाँको भनाइ छ । मेसिन विराटनगर आएपछि महानगरलाई हस्तान्तरण गर्ने र महानगरले कोशी अस्पताललाई हस्तान्तरण गरेपछि सञ्चालन हुने पराजुलीले जानकारी दिनुभयो ।

पिसिआर उपकरण खरिदका लागि सहयोग आह्वान भएपछि ६० लाख रुपैयाँ सहयोग जम्मा गर्ने प्रतिबद्धता आइसकेको छ । अहिलेसम्म ३० लाख रुपैयाँ जम्मा भइसकेको पराजुलीले जानकारी दिनुभयो । पिसिआर मेसिन भ्याटबाहेक २८ लाख रुपैयाँमा खरिद गरिएको हो ।

विराटनगरकै व्यवसायी प्रदीप मुरारकाका छोराले मेसिन सप्लायर्सको काम गर्दै आएकोले उनबाटै सो मेसिन खरिद गरिएको हो । मुरारकाले पनि मेसिन खरिदमा ५ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मेसिनको गुणस्तर परीक्षण कोसी अस्पतालका डा. कामना शर्मा र डा.सुशील तापडियाले गरेर फाइनल गर्नुभएको हो ।

पिसिआर मेसिन खरिद गर्न उद्योगी राजेन्द्र राउतले व्यक्तिगत रुपमा सबैभन्दा धेरै ७ लाख रुपैयाँ प्रदान गर्नुभएको छ । यस्तै तुलसीराम अग्रवालले ५ लाख, गोल्छा हाउसले ५ लाख प्रदान गरेका छन् । भीम घिमिरेको नेतृत्वमा उद्योग संगठनका पदाधिकारीले १४ लाख र प्रकाश मुन्दडाको नेतृत्वमा मोरङ व्यापार संघका पदाधिकारीले १० लाख रुपैयाँ जम्मा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सहयोग समितिमा प्रदेशसभा सदस्य केदार कार्कीले १ लाख, उद्योगी अविनाश बोहोराले २ लाख र अरुण न्यौपानेले १ लाख रुपैयाँ जम्मा गर्नुभएको छ ।

सर्वपक्षीय लगानीमा खरिद गरेको मेसिन सञ्चालनको लागि कोशी अस्पतालसँग कुराकानी भइसकेको प्रमुख पराजुलीले जानकारी दिनुभयो । मेसिन सञ्चालन र अस्पतालको प्रयोगशाला व्यवस्थापनको लागि महानगरपालिकाले अस्पताललाई २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मेसिन सञ्चालनको लागि कोशी अस्पतालका मेसु डा.चुमनलाल दाससँग तीन चरणको छलफल गरि सहमति भइसकेको पराजुलीले जानकारी दिनुभयो ।

सहयोग समितिले पिसिआर मेसिन स्थापना गरिसकेपछि थप सहयोग जुटाएर आरएन एक्ट्राक्सन मेसिन पनि खरिद गर्ने योजना बनाएको छ । यो मेसिनले अटोमेटिक रुपमा काम गर्ने र स्याम्पलिङ छिटो गर्ने हुँदा परीक्षण बढ्ने अपेक्षा गरिएको छ ।

पिसिआर मेसिन स्थापना भएपछि २–३ दिनभित्रमा सञ्चालनमा आउने र त्यसपछि महानगरको परीक्षण दर बढ्ने महानगरपालिकाले जनाएको छ ।

शुक्रबार, ०५ भदौ, २०७७, साँझको ०५:४९ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर