विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर लगायत अन्य तीन स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी गरेको छ । शुक्रबार जिल्ला सुरक्षा समितिको बैठक बसेर कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण तथा रोकथाम गर्न पाँच दिन मानवीय गतिविधि कम गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
बैठकले शुक्रबार मध्यरातिदेखि भदौ १० गते मध्यरातिसम्म पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभयो । विराटनगरमा तीन सातादेखि लकडाउनको अवस्था कायम रहेको भएपनि मानिसहरुको आवागमनमा थप कमी ल्याउन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रजिअ निरौलाले बताउनुभयो ।
‘अहिले पनि हिडडुल नियन्त्रित अवस्थामै छ र अझ व्यवस्थित गर्न निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो,’ प्रजिअ निरौलाले भन्नुभयो ‘पाँच जना भन्दा बढी हिडडुल गर्न निषेध गरिने छ र बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुललाई पूर्णरुपमा निषेध गरिएको छ ।’ उहाँले विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिकाका वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म, र रंगेली नगरपालिकाका ४ देखि ७ सम्मका वडामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकाले सात दिन निषेधाज्ञा जारी गर्न प्रस्ताव गरेको भएपनि बैठकले पाँच दिन मात्र निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा सार्वजनिक सेवाका क्षेत्रको सवालमा अहिले भइरहेका कामहरुले भने निरन्तरता पाउने प्रजिअ निरौलाले जानकारी दिनुभएको छ ।
बैठकले मुख्य बजार क्षेत्र भित्र तरकारी तथा फलफूल बिक्री वितरण गर्न नपाइने, खाद्यवस्तु सहित अत्यावस्यक वस्तु पनि बिहान ९ बजेसम्म मात्र बिक्री वितरण गर्न पाइने, कार्यालयहरुले न्यूनतम कर्मचारी मार्फत अत्यावश्यक सेवा मात्र प्रवाह गर्नुपर्ने निर्णय गरेको छ ।
Kasto khal ko nishedagya ho mayor jiu bujna garo vayo , nishedagya Manxe ko lagi ho ki bhut haru ko lagi ho, kripaya spasta gari pau.
K yaso gare karuna sankramit ra jokhim Kam hola raw?