विराटनगर । नेपाल–भारत सीमा नाका शिल गरिएको प्रशासनले बताउने गरेपनि सुरक्षाकर्मीको आँखा छल्दै चोर बाटो प्रयोग गरेर भारतीय बजारमा नेपालीहरु अझै पुग्ने गरेको पाइएको छ ।
महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सीमा नाका शिल गरिएको अवस्थामा पनि विराटनगरका दक्षिण भेगका स्थानीय भारतीय बजारबाट सामान तस्करी गर्ने क्रम रोकिएको छैन ।
सिमावर्ती बजार जोगवनीसँग सिमा जोडिएको विराटनगरको दक्षिणी क्षेत्रका स्थानीय कारोनाको कुनै प्रवाह नगरी विहान र साँझपख भारतीय बजार पुग्ने गरेका छन् । भारतीय बजारमा सामान खरिद गरेर विराटनगर प्रवेश गर्न नदिएको कारण बुधबार राति विराटनगर १७ इश्लामपुरमा सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास नै भयो । कोरोना भाइरसको महामारीका कारण नेपालबाट भारत र भारतबाट नेपालतर्फ आवतजावत गर्न नदिँदा नाकामा खटिएका सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको हो ।
सामान खरिद गरेर तस्करी गरी नेपालतर्फ ल्याउन खोज्नेलार्य प्रहरीले उतै रोक्न खोजेपछि सीमा क्षेत्रमा तनाब उत्पनन भएको थियो । सीमा क्षेत्रबाट सामान ओसारपसार गर्नेहरुले भारतीयको सहयोगमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोजेको प्रहरीले जनाएको छ । यसरी एकैपटक मानिसहरुको भिडभाड हुँदा सिमा नाका वरपरका स्थानीय त्रसित बन्न थालेका छन् ।
विराटनगर १७ इलामपुरका ३०÷३५ जनाको समूह लुकिछिपी चोर बाटो हुँदै सामान ओसापसार गर्न भारततिर गएको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख इनिस्पेक्टर दीपक थापाले बताउनुभयो । ‘साँझको समयमा सामान लिएर भारतबाट फर्कने क्रममा उनीहरु जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि रोक्न खोज्दा अवस्था तनावपूर्ण बन्यो,’ उहाँले भन्नुभयो ।
कोरोनाका कारण नेपाल–भारत आवतजावतमा पूर्ण रुपमा रोक लगाउँदै सीमा क्षेत्रमा कडाई गर्ने काम भइरहेको छ । एक्कासी भारततिरबाट ३–४ सयको हुल आएर सीमा क्षेत्रमा खटिएका नेपाल र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । थप मद्दतका लागि ठूलो संख्यामा प्रहरी परिचालन भएपछि आक्रमणमा उत्रन खोजेकाहरु राति ९ बजेपछि भागेको बताइएको छ ।
हुलहुज्जत गर्दै आएको समूहलाई नेपाल प्रहरीसँग समन्वय गर्दै भारतीय प्रहरीले पनि लखेट्न सहयोग गरेको थियो । कोरोना संक्रमण दर उच्च रहेको भारततर्फ लुकिछिपी जाने र सामान खरिद गरेर फर्कने क्रमले नेपालमा संक्रमण अझै फैलने खतरा बढेको छ । त्यस्तालाई प्रहरीले रोक्न खोज्दा सीमा क्षेत्रमा तनाब हुने गरेको छ ।
विराटनगर १७ का मन्जे यदावले केही दिनका लागि सीमा शिल गरेर सावधानी अपनाउनुपर्ने भएपनि कोरोनाको कुनै प्रभाव नगरी भारतीय बजार जाने गरेको बताउनुभयो । ‘स्वास्थ्यमा खेलवाड गर्नु हुँदैन । भारतमा कोरोना भाइरस देखिएकाले खुला रुपमा मानिसहरु आउने जाने गर्दा जोखिम बढ्छ । जथाभावी मानिस आवातजावत गर्दा हामीलाई पनि त्रास बढेको छ,’ उहाँले भन्नुभयो ।