विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिएको छ ।
धरानकै ६८ वर्षका सन्क्रमितलाई मोरङको सुन्दरहरैचा १ घर भएका २५ वर्षीय कोरोना जितेका युवाले प्लाज्मा दिएको प्रतिष्ठानले जनाएको छ ।
साउन ३० गते कोरोना सन्क्रमित भइ प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको आईसियुमा उपचार भैरहेको छ । उनलाई सोमबार राती प्लाज्मा दिईएको हो ।
वीपी प्रतिष्ठानको ब्लड बैङ्कमा संक्रमणमुक्त भएका युवाले रक्तदान गरेपछि त्यसको प्लाज्मा छुट्याएर कोरोना सङ्क्रमणबाट जटिल अवस्थामा उपचार गराइरहेका संक्रमित बिरामीमा दिएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जीव शर्माले जानकारी दिनुभयो । रक्तदान गर्ने युवामा गत जेठ तेस्रो साता कोरोना सङ्क्रमण भइ दुई साता गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पतालमा बसेर निको भएका थिए ।
कोरोना निको भएका ब्यक्तिको बि पोजेटिभ रगत आवश्यक रहेको भन्दै नेपाल रेडक्रस सोसाइटी सुनसरीले आव्हान गरेपछि उनी रक्तदान गर्न सोमबार धरान पुगेका थिए ।
रगतमा भएको कोषहरूलाई निकालेर बाँकी रहेको तरल पदार्थलाई प्लाज्मा भनिन्छ । कुनै पनि कोरोना सङ्क्रमण भएर निको भएका बिरामीबाट रगत निकालेर अर्को संक्रमित बिरामीलाई त्यो रगतबाट प्लाज्मा छुट्टाएर दिएपछी कोरोना भाइरसलाई मार्न सक्ने एन्टिवडी बन्ने गर्दछ ।
डा. शर्माका अनुसार उक्त एन्टिबडीको काम भाइरसलाई मार्ने हो । एन्टिबडी बनेर भाइरसलाई मारेपछि बिरामी निको हुन्छ । निको भइसकेको मानिसको शरीरमा भएको एन्टिबडीलाई नै अर्को संक्रमित गम्भीर अवस्थामा पुगेका बिरामीलाई चढाइदिने विधि नै प्लाज्मा थेरापी उपचार विधि हो ।
नेपालमा पहिलो पटक काठमाडौको शिक्षण अस्पतालमा बिराटनगरको विराट नर्सिङ होमका संचालक डा.ज्ञानेन्द्रमान कार्कीलाई यो विधिबाट उपचार गरिएको थियो । उनी अहिले कोरोनामुक्त भैसकेका छन ।
कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीहरूलाई प्लाज्मा थेरापी गर्नुपर्दा निको भएका व्यक्तिहरूको प्लाज्मा आवश्यक पर्ने भएकोले रक्तदान गर्न कोरोनामुक्त भएकाहरुलाई प्रतिश्ठानले आग्रह गरेको छ ।सरकारले प्रदेश १ का कोशी अस्पताल बिराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसहित देशभरका १२ वटा अस्पताललाई कोरोना सङ्क्रमितहरूलाई प्लाज्मा थेरापीबाट उपचार गर्न सरकारले अनुमति दिएको छ ।