सेनाले उठायो वृद्धाको अलपत्र शव

विराटनगर । शनिबार राति मृत्यु भएकी विराटनगर ३ की बृद्धाको शव नेपाली सेनाले उठाएको छ ।

वृद्धाको छोराबुहारी र नातिमा पनि कोरोना संक्रमण भएपछि उनको अन्तेष्टिमा आफन्त तथा छिमेकी नआएपछि समस्या भएको थियो । नेपाली सेनाको टाँढी स्थितव्यारेकबाट आएको कोरोना संक्रमितको शव व्यवस्थापन टोलीले वृद्धाको शव आज साँझ साढे ७ बजे बेलुका लगेको हो । उनको शव कानेपोखरीको जङ्गलमा व्यवस्थापन गरिने नेपाली सेनाले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका सबैको शव सेनाले कानेपोखरीको जंगलमै व्यवस्थापन गर्दै आएको छ ।

गत मंगलबार कोरोना संक्रमण देखिएपछि आइसोलेशनमा बस्दै आएका पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतकी ८७ वर्षीया आमाको शनिबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमित भएपछि मारवाडी सेवा सदनको आइसोलेशनमा बस्दै आएका उनको परिवारका तीनै जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट नआउँदै बृद्धा आमाको मृत्यु भएको हो । आइतबार विहान परिवारका ३ जनाको रिपोर्ट आउँदा बुहारी र नातिको रिपोर्ट पोजेटिभ आएको छ भने मृतक बृद्धाको रिपोर्ट नेगेटिभ आएको छ ।

एकैघरको तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि बृद्धाको रिपोर्ट नेगेटिभ आएपनि उनको अन्तिम संस्कारमा समस्या भएको विराटनगर– ३ का वडाध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

कोरोना संक्रमित बुहारी र नाती घरमै होम आइसोलेनमा रहेका छन् । बृद्धाका दुई छोरामध्ये जेठा छोरा काठमाडौंमा छन् । परिवारका सबै जनामा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा सरसल्लाह गरि नेपाली सेनामार्फत शव व्यवस्थापन गरिएको हो ।

आइतबार, ३२ साउन, २०७७, रातीको ०८:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर