युवाहरुमा बढी देखियो कोरोना

संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्षका उमेर समूहका ६ सय ५६ जना छन् । जुन कुल संक्रमितको ३४ दशमलव ८५ प्रतिशत हुन आउँछ ।

विराटनगर । १ नम्बर प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण युवामा देखिएको छ । प्रदेशमा शुक्रबार साँझसम्मको १ हजार ९ सय ७ जना कुल संक्रमितमध्ये ३४ दशमलव ८५ प्रतिशत युवामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेशमा १ हजार ५ सय ५ पुरुष र ४ सय २ महिला गरि कुल १ हजार ९ सय ७ संक्रमित छन् । जसमध्ये १ हजार ८ सय ८२ जना संक्रमितको मात्र उमेर समुह मन्त्रालयले छुट्याएको छ । बाँकी २५ जनाको मन्त्रालयको कोरोना अपडेटको तथ्याङ्कमा उल्लेख छैन ।

संक्रमितमध्ये २१ देखि ३० वर्षका उमेर समूहका प्रदेशमा सबै भन्दा बढी छन् । २१ देखि ३० वर्ष उमेर समुहका ६ सय ५६ जना संक्रमित छन् । जुन ३४ दशमलव ८५ प्रतिशत हुन आउँछ । सो उमेर समूहमा ५ सय १२ पुरुष र १ सय ४४ जना महिला छन् । समाजमा एकआपसमा युवाहरू बढी घुलमिल हुने कारण पनि युवामा बढी संक्रमण देखिएको विज्ञहरु बताउँछन् । असुरक्षित तवरमा सार्वजनिक सवारीसाधन प्रयोग गरिरहेका कारण पनि संक्रमण फैलिएको देखिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा लापरबाही देखिएकोले संक्रमण युवामा बढी देखिएको विज्ञको भनाइ छ ।

प्रदेश १ मा संक्रमितमध्ये दोस्रोमा ३१ देखि ४० वर्ष उमेर समूहका छन् । सो उमेर समूहका ४ सय ५ पुरुष र ८८ जना महिला गरि ४ सय ९३ जना छन् । जुन २६ दशमलव १९ प्रतिशत हो । यस्तै तेस्रोमा ११ देखि २० वर्ष उमेर समूहका रहेका छन् । सो उमेर समूहमा १४.२४ प्रतिशत अर्थात् २ सय २३ पुरुष र ३५ महिला गरि २ सय ६८ जना संक्रमित छन् । चौथोमा ४१ देखि ५० वर्ष उमेर समूहका १२.६९ प्रतिशत छन् । सो उमेर समूहका १ सय ९० पुरुष र ४९ महिला गरि २ सय ३९ जना छन् । यसैगरी ५१ देखि ६० वर्ष उमेर समूहका १ सय १५ जना छन् । सबैभन्दा कम ६१ देखि ७० वर्ष उमेर समूहका छन् । सो उमेर समूहमा १९ पुरुष १४ महिला गरि ३३ जना छन् । १० वर्षभन्दा मुनि उमेर समूहका बालबालिकाहरु ५६ जना छन् । १ हजार ८ सय ८२ संक्रमितमध्ये २५ जनाको उमेर समूह नखुलेको मन्त्रालयले जनाएको छ ।

यस कारण देखियो युवामा बढी संक्रमण

वैदेशिक रोजगारबाट फर्किएर क्वारेन्टाइनमा बसेका र बाहिर डुलिहिँड्ने युवामा अन्य उमेर समूहको तुलनामा बढी संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । एकआपसमा घुलमिल हुने कारण पनि युवामा बढी संक्रमण देखिएको उहाँले बताउनु भयो । घरमा बसिरहन नरुचाउने र समाजमा बढी घुलमिल हुने भएकाले युवा बढी संक्रमित हुन पुगेको डाक्टर मेहताको भनाइ छ ।

‘क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो भने नियन्त्रणमा आउने गरेको छ’, उहाँले भन्नुभयो, ‘बाहिर बजारमा डुलिहिँड्ने युवा समूहमा संक्रमण देखिएको हो भने समुदायमा फैलने खतरा बढी हुने गरेको छ ।’ युवामा कोरोना संक्रमण भए पनि सञ्चो भइहाल्छ भन्ने सोच हावी देखिएको उहाँले बताउनु भयो । ‘लकडाउन उल्लंघन गर्ने, पास दुरुपयोग गर्ने, सुरक्षात्मक मापदण्ड प्रयोग नगर्ने प्रवृत्ति छ’, उहाँले भन्नुभयो, ‘लक्षण पनि देखिएको छैन भने आफू संक्रमित भएको थाहै पाउँदैनन् । झन् धेरैलाई कोरोना भाइरस सार्ने जोखिम हुन्छ ।’

उहाँले पहिलो चरणमा विदेशबाट फर्किएका व्यक्तिहरुमा देखिएको संक्रमण अहिले सामुदायस्तरमा देखिएको बताउनु भयो । ‘पछिल्लो समय लकडाउन खुकुलो भइसकेपछि स्थानीयस्तरमा संक्रमण देखिन थालेको छ’, उहाँले भन्नुभयो । चलायमान समूहमा संक्रमण देखिनुले आगामि अवस्था गम्भीर रहेको संकेत गर्छ । यही समुहले घरमा बालबालिका र वृद्धवृद्धालाई संक्रमण सार्ने जोखिम हुने गरेको विज्ञको भनाइ छ ।

प्रदेश १ मा कोरोनाको कारण १३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुने सबै पुरुष हुन् । ३० वर्षका एक जना युवादेखि ७७ वर्षका वृद्धासम्म रहेका छन् ।

शनिबार, ३१ साउन, २०७७, साँझको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर