विराटनगर । बजारमा शक्तिवद्र्धक औषधिको माग बढेको छ । रोगप्रतिरोधात्मक क्षमता विकास गर्न सहयोगी हुने विश्वासले कोरोना महामारीसँगै आयुर्वेदिक औषधिको माग बढेको हो ।
विश्वमा कोरोना भाइरस संक्रमणको महामारी फैलिएसँगै नेपालमा पनि संक्रमणको त्रास बढेको छ र धेरै व्यापार व्यवसाय खस्केको छ । बजार पसल बन्द भएका छन् र मानिसहरुको चहलपहल घटेको छ । कोरोना महामारीले समग्र बजारलाई नकारात्मक असर पारिरहेको भएपनि कतिपय आयुर्वेद औषधिको कारोबार भने बढेको छ ।
कोरोना संक्रमण बढेसँगै आर्युवेद तर्फ तीन वस्तुको माग बढेको छ । गिलय जुस र क्याप्सुलको माग सबैभन्दा धेरै बढेको दिव्य आयुर्वेदिक फार्मेसी विराटनगरका सञ्चालक चन्द्रमणी तिम्सिनाले बताउनुभएको छ । गिलय संस्कृत तथा हिन्दी शब्द हो । यसलाई नेपालीमा गुर्जो भनेर चिनिन्छ । त्यही गुर्जोको प्रशोधित जुस र त्यसबाट तयार पारेको क्याप्सुलको माग बजारमा निकै बढेको छ । लामो समयदेखि भारतबाट यि लगायत धेरै आयुर्वेदिक औषधि आयात रोकिएको भएपनि नेपालमै उत्पादित गुर्जोको जुसले बजारको माग धानिरहेको उहाँले जानकारी दिनुभएको छ ।
यस्तै बजारमा माग बढेको अर्को वस्तु अश्वगन्धा चुर्ण हो । रोगप्रतिरोधात्मक शक्ति प्राप्त हुने भएकोले शक्तिवद्र्धक अश्वगन्धाको बिक्री पनि पहिलेको तुलनामा धेरै बढेको तिम्सिनाले जानकारी दिनुभएको छ । ‘हाम्रो पसलमा पहिले गिलय, अश्वगन्धा जस्ता वस्तुको खास माग थिएन तर अहिले यसको माग धेरै नै बढेको छ,’ फार्मेसी स्रञ्चालक तिम्सिनाले भन्नुभयो ‘यि वस्तुहरु पहिले भन्दा हाम्रोमा चार पाँच गुणा बढी बिक्री भइरहेको छ तर बजारको पसलहरुमा त अझ बढी बिक्री बढेको छ ।’
शरीरको आन्तरिक प्रतिरोध क्षमता विकासमा सहयोग पुग्ने भन्दै च्याबनप्रास प्रयोग गर्नेहरु पनि अहिले बढेका छन् । च्याबनप्रासको माग र बिक्री पनि प्रसस्त बढेको आयुर्वेदिक फार्मेसीहरुले जनाएका छन् ।
कोरोना भाइरस निरोधका लागि कुनै औषधि बनिसकेको छैन । कमजोर शारीरिक अवस्थाका दिर्घ रोगी, जेष्ठ नागरिकहरुलाई भाइरस संक्रमणको जोखिम बढी हुने भएकोले आयुर्वेदिक औषधिहरुको प्रयोग बढेको हो ।
यि वस्तुको बिक्री बैशाख महिनापछि ह्वातै बढेको र त्यसको आपुर्ति सबै नेपाली उद्योगहरुबाटै भइरहेको स्थानीय व्यवसायीहरुले जानकारी दिएका छन् । गिलय पहिलेदेखि नै नेपाली बजारमा आउने गरेको थियो तर अहिले ‘कोरोना प्लस’ भनेरै बजारमा लगिएको छ । त्यस कारणले पनि कोरोना भाइरसले यसको बजार प्रवद्र्धनमा सहयोग पुगेको बताइएको छ ।