लम्बिदै कन्ट्रयाक्ट ट्रेसिङको लाइन

विराटनगर । विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै कन्ट्रयाक्ट ट्रेसिङको लाईन पनि लम्बिन थालेको छ ।

विराटनगर महानगरपालिकाले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको परिवार र उनीहरुसँग सम्पर्कमा पुगेका व्यक्तिहरुको स्वाब संकलन कार्यलाई निरन्तरता दिएको छ ।

हरेक दिन विराटनगरको जैन भवनमा कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्तिहरु महानगरपालिका मार्फत जैन भवनमा स्वाब दिन पुग्ने गरेका छन् । त्यहाँ महानगरका स्वास्थ्यकर्मीहरुले दैनिक करिव २०० जनाको संख्यामा स्वाब संकलन गर्दै आएका छन् ।

एक साता अघिसम्म ५० जनाले जैन भवममा पुगेर स्वाब दिने गरेकोमा अहिले त्यो संख्या ह्वातै बढेको छ । अहिले दैनिक २०० जनाको स्वाब संकलन हुने गरेको छ । परीक्षण प्रयोगशालाको क्षमता अभावले गर्दा संकास्पद् व्यक्तिहरु सबैलाई परीक्षणको दायरामा भने ल्याउन सकिएको छैन ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख रमेश कार्कीले कन्ट्रयाक्ट ट्रेसिङमा परेका मध्ये पनि छानेर उच्च जोखिममा रहनेहरुको मात्र परीक्षण गर्ने काम भइरहेको बताउनुहुन्छ । उहाँले पछिल्ला दिनहरुमा संक्रमितको संख्या बढेकोले जैन भवनको भिड पनि बढेको बताउनुभएको छ ।

महानगरका स्वास्थ्य शाखाका कन्ट्रयाक्ट ट्रेसिङ सुपरभाइजर हैदर अलीले कतिपय संक्रमितहरु ३५–४० जनासँग निकट सम्पर्कमा पुगेको पाइन्छ । उनीहरु सबै परीक्षणको दायरामा आउनु पर्ने भएपनि स्रोत साधन र क्षमता अभावमा अहिले उच्च जोखिममा परेकाहरुको मात्र स्वाब संकलन गर्ने काम भइरहेको उहाँले बताउनुभएको छ । ‘हामीले एक जना संक्रमित बराबर न्यूनतम १० जनासम्मको परीक्षण गर्ने सोच बनाएका छौं छर पछिल्लो समय त्यो सम्भव भइरहेको छैन ।’ उहाँका अनुसार दैनिक ५० जनाको हाराहारीमा संक्रमित भेटिनथालेको अवस्थामा १० जनाको दरले पनि ५० जनाको स्वाब लिनुपर्ने हुन्छ तर महानगरले २०० भन्दा कमको मात्र स्वाब संकलन गरिरहेको छ ।

बिहीबार विराटनगरमा ५९ जना नयाँ संक्रमित भेटिएका थिए । बुधबार ५० जना नयाँ संक्रमित पहिचान भएको थियो । त्यस अघि ५५ जना नयाँ संक्रमित फेला परेको थियो । संक्रमितहरुलाई आइसोलेसनमा पठाउने वा होम आइसोलेसनमा बस्ने सबै प्रवन्ध मिलाइसकेपछि केही दिनको अन्तरालमा कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्तिहरुलाई बोलाएर स्वाब संकलन गर्ने गरिएको छ । त्यसरी संकलन गरेको स्वाबमा अहिले करिव २० देखि ३० प्रतिशतको हाराहामीमा कोरोना संक्रमितहरु पहिचान हुने गरेको छ ।

पछिल्लो समय विराटनगरको वडा नम्बर ९ मा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । त्यस बाहेक वडा नम्बर ५, १२, ३ पनि प्रभावित देखिएको छ । विराटनगर महानगरपालिकाले दैनिक कम्तिमा ५ सय जनाको परीक्षण गर्न सकेको खण्डमा भाइरस फैलिने दर नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरेको छ । प्रदेश १ मा दैनिक पहिचान भएका संक्रमित मध्ये करिव आधा संख्या विराटनगरकै देखिएका छन् ।

विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको बुढिगंगा गाउँपालिका स्थित आरती स्ट्रिप्स उद्योगमा कार्यरत कर्मचारी तथा मजदुर गरी ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये कतिपय महानगर क्षेत्रमा डेरा बस्ने वा महानगरका बासिन्दा भएका कारणले पनि समुदायमा संक्रमण बिस्तार भएको र त्यसले महानगरमा कन्ट्रयाक्ट ट्रेसिङको चाप बढेको बताइएको छ ।

 

शुक्रबार, ३० साउन, २०७७, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर