विराटनगर । प्रदेश नं. १ मा बुधबार थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश बाहिर ठेगाना भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मोरङमा विराटनगरका १२ पुरुष, रंगेलीका ६ पुरुष र ३ महिला, बबियाका १ पुरुष र गुलुमका २ पुरुषमा कोरोना देखिएको छ । उता सुनसरीको धरानका ४ महिला र ५ पुरुष, दुहबीका ३ पुरुष र कोशी गाउँपालिकाका २ पुरुषमा कोरानो देखिएको छ । झापाको मेचीनगरका ३ महिला र ६ पुरुष, भद्रपुरका ३ पुरुष तथा रौतहटका १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
बुधबार मोरङको बुढिगंगा २ का कोरोना संक्रमित पुरुषको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु हुनेहरु सबै मोरङका हुन् । यस्तै प्रदेश बाहिरका २ जनाको बीपी प्रतिष्ठानमा मृत्यु भएको छ ।
प्रदेशमा अहिलेसम्म कोरोनामुक्त भएर १ हजार ११८ जना डिस्चार्ज भएका छन् । गएको २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार ८७८ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।