विराटनगर । प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबारसम्म ३ वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाले जनाएको छ ।
प्रदेश १ का नागरिक ५६ हजार ४ सय १६ जनाको र प्रदेश १ बाहिरका ४ हजार १ सय ७४ जनाको पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले बताउनुभयो ।
अहिलेसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेको छ । परीक्षण गरिएकामध्ये १ हजार ५ सय ६३ को रिपोर्ट पोजेटिभ आएको छ भने ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश १ मा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । प्रदेश १ मा मोरङमा सबैभन्दा बढी संक्रमण देखिएको छ । मोरङमा १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ५७ जना संक्रमित भेटिएका छन् । विराटनगर महानगरपालिका क्षेत्रभित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको निर्देशक यादवले बताउनुभयो ।
प्रयोगशालाका अनुसार महानगरपालिकाले पठाएको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्यावले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगर विभिन्न संघसंस्थाबाट लिएको नमूना १ हजार ४ सय ८० परीक्षण भएको छ । सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका ३ वटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वावको परीक्षण गर्नसक्ने क्षमता रहेको बताउनुभयो । झापाको मेची अञ्चल अस्पतालको ल्याव सञ्चालनको तयारीमा रहेको बताउँदै उहाँले उक्त ल्याव सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने जानकारी दिनुभयो ।
प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाव होल्डमा रहेको छ । दैनिक ७ सय स्वाव होल्डमा बसिरहेकोले परीक्षणको रिपोर्ट आउने ढिलाइ भइरहेको प्रयोगशालाले जनाएको छ ।