विराटनगर । प्रदेश १ का दुई पीसीआर ल्याबमा फरक रिपोर्ट आएपछि परिवारले नै अन्तिम संस्कार गरेका विराटनगरका एक व्यक्तिको कोरोनाबाटै मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ ।
मिर्गाैला रोगी रहेका विराटनगर १० का ६३ वर्षीय रमेश अग्रवालको शनिबार सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार कोशी अस्पताल मा लगिएका उनको स्वाब संकलन गरिएको थियो । शुक्रबार दिउँसोसम्म कोरोना रिपोर्ट नआएकोमा स्वास्थ्य अवस्था बिग्रिएपछि आफन्तले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागेकोमा उपचारको क्रममा निधन भएको थियो ।
अग्रवालको प्रतिष्ठानले पनि कोरोना जाँच गर्न स्वाब संकलन गरेकोमा नेगेटिभ रिपोर्ट आयो । यता कोशीको पनि रिपोर्ट शुक्रबार नै आएकोमा पोजेटिभ देखियो । तर, प्रतिष्ठानले आफूले संकलन गरेको स्वाबमा नेगेटिभ रिपोर्ट आएको भन्दै शव आफन्तको जिम्मा लगाएपछि शनिबार उनको विराटनगरमा अन्तेष्टि गरिएकोमा प्रदेश सरकारले उनको मृत्यु कोरोनाबाटै भएको पुष्टि गरेको छ ।
सरकारले कोरोना भाइरसबाट कसैको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर कार्यविधि बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि पालना नगरी उनको शवको सामान्य मृत्यु सरह अन्तिम संस्कार गरिएको छ ।
बीपीबाट नेगेटिभ रिपोर्ट आएको आधारमा परिवारले शब जिम्मा लिएर अन्तिम संस्कार गरेकोमा सामाजिक विकास मन्त्रालयले आइतबार उनको मृत्यु कोरोनाबाटै भएको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ उल्लेख छ । त्यसमा २४ गते मृत्यु भएकाको विवरण समावेश गरिएको जनाइएको छ ।
यसअघि फरक–फरक रिपोर्ट आएको र परिवारले अन्तिम संस्कार गरेका व्यक्तिको मृत्यु कोरोनाबाटै भएको पुष्टि कसरी भयो भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले त्यसको जानकारी प्रदेश प्रयोगशालाले दिने बताउनुभयो । प्रयोगशालाले दिएको रिपोर्टको आधारमा मन्त्रालयले डाटा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।
यता प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले भने पहिले लिएको रिपोर्ट नै सहि हुने भएकोले उनको मृत्यु कोरोनाबाटै भएको बताउनुभयो । पछिल्लो पटक स्वाब संकलनमा त्रुटी भएको कारण नेगेटिभ आएको हुनसक्ने भन्दै उहाँले पहिले लिएको स्वाबको रिपोर्टलाई नै प्रयोगशालाले मान्यता दिने स्पष्ट पार्नुभएको छ ।
कोरोनाबाटै मृत्यु भएको पुष्टि हुने अवस्थामा शव परिवारलाई जिम्मा किन दिइयो भन्ने प्रश्नमा भने यादवले त्यो सम्बन्धित निकायले जवाफ दिनुपर्ने विषय भएको बताउनुभएको छ । प्रदेश प्रयोगशालमा भएको पोर्टेवल पीसीआर मेसिनले दिएको रिपोर्टलाई प्रयोगशालाले मान्यता नदिएको हो । यसअघि कोशीमा मृत्यु भएका चार जनाको रिपोर्ट भने सोही प्रयोगशालाबाट लिइएको थियो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख यादव पिसिआर परीक्षणको रिपोर्ट ६५ देखि ७० प्रतिशत मात्र सहि हुने भएकोले यस्तो देखिने बताउहुन्छ । चीनमा पनि पिसिआर रिपोर्ट सतप्रतिशत सही नहुने भन्दै उहाँले स्वाब संकलनमा त्रुटी हुँदा, परीक्षणमा ढिलाई हुँदा र मानवीय त्रुटीले पनि रिपोर्ट फरक पर्नसक्ने जानकारी दिनुभएको छ ।
मृतक अग्रवालको फरक–फरक रिपोर्ट आएपछि केही समय अन्त्येष्टि र शव बुझ्ने क्रममा विवाद भएपनि विराटनगर महानगरले थोरै मलामी उपस्थित गराउने सर्तमा आफन्तलाई अन्त्येष्टि गर्न दिएको जनाएको छ । महानगरले आफन्तको पीसीआर जाँच गर्ने जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनको संख्या ६ पुगेको छ । उनीहरु सबै मोरङका हुन् । मृतकमध्ये ४ जना विराटनगरका, १ जना रंगेलीका र १ जना सुनवर्षी घर भएका हुन् ।