विराटनगर । पानीले डुबान भयो, भोकमरी लाग्यो, क्यान्सर पीडितले पैसा अभावले उपचार पाएनन्, मृगौला रोगीलाई सहयोग जुटेन, चिसोले दलित वस्तीहरुमा समस्या भयो, औषधि उपचारमा समस्या भयो, कोरोना महामारीको समयमा समाजमा धेरै समस्या प¥यो त्यहाँ पुग्यो विराटनगरका एउटा युवा समूह । बेलबारीका २० वर्षे ठिटो पेरिस सुवेदीको नेतृत्वमा ४ वर्षयता यस्तैयस्तै सामाजिक सेवामा युवा समूहहरु खटिइरहेको छ ।
सडकमा भोका मान्छेलाई समस्या प¥यो, पेरिस सम्झन्छन् । सडकमा कोही बेवारिसे भेटियो पेरिस नै पुग्छन् । भोकमरीले कुनै वस्ती समस्यामा प¥यो सहयोग गर्न चाहनेहरु पनि पेरिस मार्फत नै सहयोग गर्न चाहन्छन् ।
ब्राइट भिजन ल कलेज, विराटनगरमा बिएलएलबी दोस्रो वर्षमा अध्ययनरत बेलबारी–३, मोरङका पेरिस सामाजिक क्षेत्रमा धेरै छिटो परिचित भएका छन् । उनमा स्वार्थ छैन, उनमा सेवाभाव छ, उनका अघि पछि युवाहरु खुबै दौडन्छन्, कलेजमा उनकै बारे चर्चा हुन्छ । सामाजिक क्षेत्रमा योगदान गर्नुपरे उनै पेरिसलाई धेरै स्वतन्त्र युवाहरुले सम्झन्छन् । उनै पेरिस सुवेदीको नेतृत्वको युवा समूहद्वारा कोरोना संकटको समयमा के–के गर्यो ? पेरिस सुवेदीकै अनुभवका आधारमा तयार पारिएको यो सामाग्री ।
– लकडाउन हुनुभन्दा झण्डै १ महिना अगाडि कुनै पनि निकायबाट जनचेतना अभियान सुरु भएको थिएन । त्यतिबेला पेरिस सुवेदी नेतृत्वको युवा समूहले भारतीय सिमा क्षेत्र जोगवनीदेखि विराटनगरका विभिन्न १५ ठाउँमा सचेतना कार्यक्रम गर्यो ।
– सरकारले लकडाउन गर्नुअघि २५ जनाभन्दा बढी भेला नहुनु भन्ने निर्देशन पछि भने ति कार्यक्रम रोकेर डब्लुएचओको मापदण्ड अनुसार युवासमूहले रेक्टिफाइड स्प्रिट, ग्लिसिरिन र एलोभेराको संयोजनबाट आफैं सेनिटाइजर निर्माण गरेर बाटोबाटोमा वितरण गरियो । त्यसका अलावा सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्नेलागयतका विषय ७ दिनसम्म विराटनगरस्थित हनुमान मन्दिरमा सर्वसाधरणलाई सचेत गराइयो ।
– रेक्टिफाइड स्प्रिट, ग्लिसिरिनको अभाव हुन थालेपछि लकडाउन हुनुभन्दा १ दिन अगाडि उक्त अभियान सकियो । अन्तिम दिन ७ सय वटा ३० एमएलको सेनिटाइजर निर्माण भएको थियो । उक्त सेनिटाइटर जिल्ला प्रहरी, वडा प्रहरी, ट्राफिक प्रहरी, पूर्वाञ्चल बाल आश्रम, मानव सेवा आश्रम, ज्येष्ठ नागरिक समाजलगायतलाई वितरण गरियो ।
– लकडाउनको तेस्रो दिनदेखि सडकमा बसिरहेका बेवारिसे मानिसहरुलाई रोयल बिरयानी हाउसमा खाना पकाएर प्याकिङ गर्दै वितरण गर्न सुरु गरियो । पहिलो दिन ९७ जनालाई खाना खुवाइयो । विराटनगर भरीका सडक आश्रीतहरु जहाँ बस्छन्, त्यहाँ खाना पु¥याइयो । तीनदिनसम्म उनीहरु धेरै संकटमा बसेका थिए । त्यसपछि भने उनीहरु धेरै खुसी भए । खाना अभियानकै क्रममा अस्पतालमा बसेका गरिवहरुलाई पनि खाना खुवाइयो । लकडाउनका अन्तिम दिनसम्ममा दैनिक २ सय ५० जनासम्मलाई खाना खुवाइयो । लकडाउन भएपछिको ९० दिनसम्म चलेको खाना खुवाउने अभियानमा लगभग ३३ हजार ३ सय प्याकेट खाना सडक आश्रीत र खाना नपाएकाहरुलाई खुवाइयो ।
– सुरुमा खाना दिने अभियानमा सामान जुटाउन धेरै गाह्रो भयो । तर, पछि कतिले दाल, चामल, तेल तथा नगद सहयोग गरे । कुनै पनि संस्थागत ढंगले हामीले अभियान सुरु गरिएको होइन । स्वतस्फूर्त लागियो । खाना खुवाउन आफूसहित युवा नेता वसिम आलम, पप्पु अन्सारी, भविष पौडेल, दिपेन मारिक, रुपेश दास, सन्जु सापकोटा, प्रज्वल अधिकारी, दिपा दर्नाल, चिरञ्जीवि आचार्य, शिवरतन साह, विकास महतो, अमर मण्डललगायतका युवाहरु लागे । खाना बाँड्दा सवारी साधनका लागि इन्धन तथा मोटरसाइकलका चालक र खानाको प्याकेट बोक्नेहरुको लागि रेनकोट किन्नेलगायतका काम युवाहरुले आफ्नै खर्चमा गरे । सुरुमा आर्थिक संकट भयो, लकडाउनको बेलामा हिंड्दा अप्ट्यारो पार्दा समस्या भयो । जोखिम पनि भयो । सामाजिक मानिसबाट सहयोग भयो । तर, सरकारी स्तरका कुनै पनि अधिकारीहरुबाट खासै सहयोग भएन । ‘ल यो काम ठिक छ अगाडि बढ’ भनेर प्रोत्साहन पनि खासै भएन ।
– त्यसबीचमा खानापानाको लागि समस्या भएका गरिवहरुका १३५ घर परिवारलाई प्रति परिवार १०/१२ किलो चामल वितरण गरियो । विराटनगर–१९ को मुसहरको टोलमा भुजा खाएर बसिरहेका मानिसहरुलाई तत्काल त्यहाँ पुगेर प्रति परिवार १२ किलोको चामल, तेललगायतका खाद्यान्न वितरण गरियो । त्यसको अलावा समस्यामा परेका १९ जना तेस्रो लिंगीहरुलाई पनि राहत वितरण गरियो । अपाङ्गता भएकाहरुलाई उनीहरु बसेकै ठाउँमा गएर राहत वितरण गरियो । लकडाउन खुलेपछि पनि रोजगारीको समस्या भएका केही अपाङ्गताहरुलाई स्वरोजगार बनाउन १०/१० हजार बराबरको सामाग्री दिलाइयो ।
– लकडाउन सकिएपछि अहिले पुनः विराटनगरमा समुदायस्तरमा कोरोना बढेको छ । त्यसपछि फेरि युवाहरु जुर्मुराए । ति युवाको समूहले ४ दिन अगाडि बजार, विराटेश्वर वृद्धा आश्रम, गुद्री बजारलाई सेनिटाइज गरे । करिब ६ सय लिटर जति सेनिटाइजर छर्कियो । सोडियम हाइपोक्लोराइड सोलुसन र पानीको समिश्रण गरेर उनीहरु आफैंले सेनिटाइजर बनाएका थिए । यो कार्यलाई जनस्तरबाट धेरै प्रशंसा भयो । यो काम नगरपालिकाले गर्नुपर्ने, सरकारले गर्नुपर्ने भन्ने प्रतिक्रिया धेरै आयो ।
‘कोरोना विरुद्धको महामारीले आक्रान्त मानिसहरुको सेवामा लागिरहँदा हामी सबैले सुरक्षाको उपाया पनि अपनायौं,’ सुवेदी भन्छन्, ‘लकडाउनको बेला एक जना महिला बेवारिसे अवस्थामा विराटनगर बरगाछीमा सुतिरहेको अवस्थामा भेटियो । उनको शरिरभरी घाउ पाकेको अवस्थामा थियो । उनलाई उद्धार गरेर अस्पतालमा आफैंले उठाएर लगियो । तर, उनको मृत्यु भएपछि आफूलाई धेरै डर लाग्यो ।’ तर, पिसिआर टेस्ट गरेपछि नेगेटिभ रिपोर्ट आएसँगै आफूलाई ढुक्क भएको सुवेदीको भनाइ छ ।
सुवेदी नेतृत्वको युवाहरुको टोलीले लकडाउनको समयमा आवश्यक पर्ने तर जुटाउन नसक्ने सर्वसाधरणको घरमा औषधि पु¥याए । वृद्धावृद्धालाई मानव आश्रममा पु¥याइयो । ब्लड बैंकमा ब्लड छैन भने आफैं दिनेसम्मको काम गरे ।
पछिल्लो पटक वडा प्रहरी कार्यालयसँग मिलेर सोही युवा समूहले ‘माक्स खोइ ?’ अभियान सुरु गर्यो । सोही अभियानका क्रममा माक्स नलगाउनेलाई सचेत गराउँदै १० हजार बढी माक्स वितरण गरियो ।
लकडाउनको बेला जति पनि प्रहरी ड्युटीमा रहेका थिए उनीहरुलाई नियमित माक्स र सेनिटाइटर दिइरह्यौं । राज्यको सुरक्षाका लागि लागेका प्रहरीलाई राज्यले दिनुपर्ने सुविधा भएपनि युवाहरुले नै दिए । भर्खरै आएको बाढी र डुबानको बेला समस्यामा परेको बस्तीमा झुल वितरण गर्न होस् वा शुद्ध पानी वितरण गर्नेलगायतका काममा पनि सुवेदी लगायतको टोली लागिरहयो ।
उनै पेरिसको समूहले क्लोथ बैंक स्थापना गरेका छन् । उनीहरुले सुरु गरेको क्लोथ बैंक अभियानबाट धेरै असहाय, गरिव तथा सडक आश्रीतहरुले जाडोमा न्यानो लुगा लगाउन पाएका छन् ।
सामाजिक सेवामा कसरी लागे पेरिस ?
५ वर्ष अगाडि पेरिस १५ वर्षका थिए । उनी त्यही बेला मिस्टर एसएलसीको प्रथम भए । त्यसपछि मानिसहरुमा उनी परिचित भए । उनलाई धेरैले मोडल भनेर चिन्थे । ‘त्यसपछि मलाई आफूले केही गर्न सकिन्छ कि जस्तो लाग्थ्यो,’ सुवेदीले भने, ‘०७२ साल साउनमा विराटनगरमा ठूलो बाढी आयो । त्यसबेला म खटेर लागें । त्यतिबेलादेखि विराटनगरमा पनि स्थापित भइयो । मलाई सामाजिक क्षेत्रमा सेवा गरेर लाभ लिने भन्दा पनि यो हाम्रो कर्तव्य हो भन्ने सँधै लागिरहयो ।’ पहिलो सेवा गर्नका लागि दाता खोज्नु पथ्र्यो । तर, अहिले उनीसँग ५/७ जना मानिसहरु सहयोगका लागि तयार भएर बसेका छन् । ‘के गर्नुपर्छ हामी सहयोग गर्छौं भन्नेहरुको कुनै कमि छैन,’ उनी भन्छन्, ‘किनकी मैले सबैलाई सोही अनुसारको काम गरेर भरोसा दिलाएको छु ।’
बुबा योगेन्द्र सुवेदी बेलबारी–३ का वडाध्यक्ष हुन् । ‘सामाजिक क्षेत्रमा लाग्न मेरो, बुबाबाट म प्रभावित भएको हुँ, मेरो बाबाले पनि आफ्नै जग्गा दान गरेर भएपनि सामाजिक सेवा गरिरहनुहुन्छ,’ सुवेदीले भने, ‘तर, कहिलेकाहीँ बुबाको राजनीतिक व्यक्तित्वको कारण कतिपय अवस्थामा म घेराबन्दीमा छु कि जस्तो पनि लाग्छ ।’
उनकी आमा सुजता सुवेदी व्यापार गरेर बस्छिन् । बहिनी एन्जिला सुवेदी अध्यनकै क्रममा छिन् । उनलाई देशको वर्तमान अवस्था देख्दा धेरै नराम्रो लाग्छ । ‘कहिलेकाही हामीजस्ता युवा नेतृत्वमा आउनु पर्छ जस्तो लाग्छ, फेरि सिस्टमले बिगारेको देश भएको कारण हामी गएर पनि काम गर्न सकिँदैन कि जस्तो लाग्छ,’ उनी सुनाउँछन्, ‘अहिले कोरोनाले देश संकटमा परिरहेको बेला हामीजस्ता युवाहरुलाई साथमा लिएर सबै मिलेर अगाडि जानुपर्छ जस्तो लाग्छ, तर, माथिल्लो तहमा भएका भ्रष्टाचार, अनियमितता र कार्यशैली देख्दा धेरै नराम्रो लाग्छ ।’
उनी कानूनका विद्यार्थी हुन् । तर, उनको सोच आफ्नो अध्ययन सकेपछि पनि सामाजिक क्षेत्रमा लाग्ने नै छ । ‘मेरो सोच भनेको जीवनभर सामाजिक हितको सोच राखेरै अगाडि बढ्न सकियोस् भन्ने छ,’ उनले भने, ‘अन्यायमा परेर विचल्लीमा परेका कतिपय बालबालिकालाई पालन पोषण गर्ने मेरो सोच छ । अहिले मसँग पर्याप्त आर्थिक स्रोत नहोला तर, पछि सम्भावना भयो भने म केही न केही गर्छु । तर, राजनीतिक हिसावले होइन सामाजिक हिसावले काम गर्न चाहन्छु ।’
‘कोरोना संकटको समयमा घर परिवारले जोखिम छ, घर आइज भनेर मलाई बुबा ममिले कति बोलाउनु भयो, तर म जान सकिन,’ पेरिस भन्छन्, ‘मलाई यो क्षेत्र छोडेर जानुपर्छ भन्ने लागेकै छैन । म यो क्षेत्रबाट अब बाहिर जानै नसक्ने जस्तो भएको छु ।’
उनलाई क्याम्पसमा साथीभाइले गर्ने रेस्पेक्ट पनि फरक छ । त्यहाँ पनि आफ्ना कोही साथीभाईलाई सहयोग गर्नुप¥यो भने उनकै नाम सबैले लिन्छन् । क्याम्पसको माथिल्लो ब्याचका दाईहरुले पनि उनलाई नै खोज्छन् । क्याम्पसका सरहरुले पनि उनलाई जहिल्यै उत्साहित बनाउँछन् । ‘तर, मेरो उमेरका साथीहरु मसँग धेरै छैनन,’ उनी भन्छन्, ‘३५–४० वर्षमाथिका साथीहरु धेरै भएकै कारण होला मलाई धेरै कुरा सिक्न सजिलो भएको छ ।’