विराटनगर । न्यूरो हस्पिटलको आफ्नै कोभिड व्यवस्थापन समितिले हस्पिटलमा रहेको इमेरजेन्सी फ्युमिगेसन र स्टेरिलाईजेसनका लागि वार्ड सिल गरेको छ ।
दुइ महिनाअगाडि नै हस्पिटलका निर्देशकहरुको बोर्ड बैठकले बिरामीहरुको स्वास्थ्या अवस्थालाई ख्याल गर्दै कोभिड व्यवस्थापन निर्देशिका बमोजिम, ७ जना रहने गरी कोभिड व्यवस्थापन समिति निमार्ण गरी परिचालन गरिएको थियो ।
सो समितिका अध्यक्ष इं रजित राज बस्नेतले अस्पतालले शुक्रबार इमेरजेन्सि वार्ड स्वतस्फुर्त रुपमा फ्युमिगेसन र स्टेरिलाईजेसन निमित्त सिल गरिएको बताउनु भयो । उहाँले शुक्रबार हस्पिटलको इमेरजेन्सिमा कार्यरत एक मेडिकल अफिसरको कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी पाएलगत्तै हस्पिटलमा निर्माण गरिएको कोभिड व्यवस्थापन समितिले इमेरजेन्सि वार्ड फ्युमिगेसन गर्न निर्देशन दिएको बताउनु भयो ।
संक्रमित व्यक्ति विराटनगर अस्पतालमा पनि कार्यरत थिए । यसअघि बिराटनगर अस्पतालका संचालकलाई कोरोना पोजिटिभ देखिएपछि हस्पिटलका अन्य चिकित्सकहरुको पिसिआर चेक गर्दा शुक्रबार उनको रिपोर्ट पोजिटिभ आएको हो ।
न्यूरो हस्पिटलमा २ महिना अगाडि नै आइसोलेसन वार्ड बनाइएको थियो । जहाँ कोरोना सम्भावित व्यक्तिहरुको जाँच बुझका लागि चिकित्सकहरुको बिभिन्न टोली खटाउने र स्वाब संकलन गरि हस्पिटलले स्वतस्फुर्त रुपमा परीक्षण गराई स्थानीय सरकार र प्रादेशिक सरकारलाई जानकारी गराउँदै आएका थिए । शुक्रबार संक्रमित भेटिएसँगै उनको कन्टयाक ट्रेसिङ गरि स्वाब संकलन गरेर परीक्षणको लागि पठाइसकेको छ ।
यता बिराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले न्यूरो हस्पिटलले कोभिडको प्रोटोकललाई ध्यानमा राखि कोभिड व्यवस्थापन समिति निर्माण गर्नु र सो समितिले आफै आफ्नो इमेरजेन्सि वार्ड सिल गर्ने कार्यको उच्च मूल्याङ्कन गरिएको बताउनु भयो । कार्कीले संक्रमित मेडिकल अफिसरलाई हिजो नै धरान पठाइसकेको बताउनु भयो । यस्तै उहाँले अस्पतालको इमेरजेन्सि वार्ड आफैं सिल भएको पनि बताउनु भयो ।
स्थानीय सरकारले पनि बाध्यत्मक अवस्थामा अस्पताललाई शिल गर्न सकिने उहाँले बताउनु भयो । अस्पतालले सुचना लुकाए वा कोभिडको प्रोटोकल निर्वाह नगरे सरकारले नै शिल गर्ने स्वास्थ्य शाखा प्रमुख कार्कीले बताउनु भयो । यद्यपि हाल अस्पतालले गरेको कामको सुचना मात्र नभई , अब उपरान्त गर्ने कामको समेत सुचना एवम जानकारी गराइरहेको उहाँले बताउनु भयो । हस्पिटलले वैकल्पिक इमेरजेन्सि वार्ड निर्माण गरी आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।