तीन प्रहरी घाइते, कारोबारीसहित ६ जना प्रहरीको नियन्त्रणमा

लागूऔषध कारोवारी र प्रहरीबीच झडप, छ जना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ आरती स्ट्रिप पछाडी रहेको खोरैया बस्तीमा लागूऔषध नियन्त्रण गर्न भएको प्रहरीमाथि बिहीबार राति आक्रमण भएको छ ।

बिहीबार ९ बजे लागूऔषध नियन्त्रण गर्न गएका सादा पोसकका तीन जना प्रहरीलाई लागुऔषध कारोबारीले आक्रमण गरि घाइते बनाएका हुन् ।

घाइते हुनेहरुमा प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी रहेका छन् । घाइतेहरुको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरी जवान बस्नेतको टाउकोमा सातवटा टाँका लगाइएको छ ।

प्रहरी निरीक्षक मिलन थापाको नेत्रृत्वमा गएको टोलीमाथि आक्रमण भएको हो । लागुऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको सूचना पाएर नियन्त्रणमा लिन गएको टोलीमाथि तस्करीमा संलग्न र लागूऔषध कारोबारीले आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी पुग्नसाथ स्थानीय लागूऔषको कारोबारीहरूले लाठी, भाला र खुकरी लिएर आक्रमणमा उत्रिएका थिए ।

लागूऔषको कारोबारीले आक्रमण गर्दै प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायरसमेत गरेको एसपी खड्काले जानकारी दिनुभयो । ‘पहिलो गएको सादा पोशकको टोलीमाथि आक्रमण भएपछि सपोर्टमा थप प्रहरी टोली गएको थियो,’ उहाँले भन्नुभयोे, ‘सपोर्टमा गएको प्रहरी टोलीमाथि पनि आक्रमणको प्रयास भएपछि प्रहरीले हवाइ फायर गरेको हो ।’

घटनापछि थप प्रहरी परिचालन गरेर प्रहरीले लागूऔषधको कारोबारीसहित घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । उनका अनुसार पक्राउ पर्नेमा बलराम ऋषिदेव, २८ वर्षीय देव ऋषिदेव, २१ वर्षीय वीरेन्द्र ऋषिदेव, २५ वर्षीय महादेव ऋषिदेव, नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेव रहेका छन् । पक्राउ पर्ने बलराम लागूऔषधको कारोबारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले घरमा भण्डार गरि अवैध लागूऔषधको कारोबार गर्ने गरेको बुझिएको छ । बलरामले घरमा अवैध लागूऔषध राखेर विक्री वितरण गर्ने गरेको सूचना पाएपछि नियन्त्रण गर्न उसको घरमा पुगेको थियो । पक्राउ परकाहरूलाई मोरङ प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान सुरू गरेको एसपी खड्काले बताउनुभयो ।

शुक्रबार, १६ साउन, २०७७, बिहानको ०९:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर