विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि आइतबार अपरान्ह ३ बजे बस्ने गरी बिना निष्कर्श टुंगिएको छ ।
पार्टीको आन्तरिक विवाद समाधानका लागि झण्डै चार घण्टा भएको छलफलमा कुनै निकासको बिन्दु फेला नपरेको र पार्टी र जनादेशको रक्षा गर्न थप छलफल गर्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।
प्रवक्ता श्रेष्ठले सबै विषयमा छलफल भएको तर कुनै पनि निर्णयमा नपुगेको जानकारी दिनुभयो ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आन्तरिक रुपमा छलफल गर्दै प्रस्तावहरु ल्याएर आगामी बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।
पार्टी अध्यक्षद्वयले गृहकार्य गर्दै आएको र सचिवालयले पनि थप गृहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।
भोलि दिउँसो ३ बजे सचिवालय बैठक बस्ने छ भने स्थायी समितिको बैठक पनि सोही समयमा बोलाइएको छ ।