विराटनगर । स्थाई समितिको बैठक स्थगित गरेर बोलाइएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बेठक केही बेर अघि प्रधानमन्त्री निबास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका सबै नौ जना सदस्यहरु सहभागी हुनुभएको छ ।
लामो समयदेखि पार्टी भित्र देखिएको विवाद समाधानको उपाय खोजी गर्न बैठकमा छलफल हुने बताइएको छ ।
सरकार सञ्चालनका क्रममा पार्टीलाई पूर्ण वेवास्ता गरी एकलौटी ढंगले अघि बढेको भन्दै सचिवालयका बहुमत सदस्यहरु पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट छन् । कार्यशैलीमा सुधार गर्न पटक पटक पार्टीले गरेको आग्रहलाई वेवास्ता गरेपछि विवाद बढेर प्रधानमन्त्रीबाट राजिनामा गर्नुपर्ने भन्ने तहसम्म पुगिसकेको अवस्थामा भएको यो बैठकले विवाद निरुपणमा महत्वपूर्ण निर्णय गर्नसक्ने अनुमान गरिएको छ । यद्यपी पटक पटक दुई अध्यक्ष र कतिपय सन्दर्भमा वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफलमा सकारात्मक निकास नआएका कारण सचिवालयको बैठकले पनि ठोस निष्कर्श निकाल्न नसक्ने आशंका कायमै छ ।
नेकपाले १० गतेदेखि स्थायी कमिटी बैठक स्थगन अध्यक्ष प्रचण्डको अग्रसरतामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विभिन्न चरणमा वार्ता र छलफल गरेपछि निकासका लागि भन्दै पुनः सचिवालय बैठक बसेको हो । नेकपाले भोलि ४ गते स्थायी समिति बैठक पनि बोलाएको छ । आजको बैठकबाट सकारात्मक निकास नआएको खण्डमा भोलिको स्थायी समिति बैठकले भदौ पहिलो साता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्ने अनुमान गरिएको छ ।